एनएमबि बैंकले भित्र्यायो करोडौं डलर

बिहिबार, २६ साउन २०७९

काठमाडौं – देशले आर्थिक संकट झेलिरहेको समयमा एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) बाट तेस्रो आवधिक कर्जाबापत दुई करोड ५० लाख अमेरिकी डलर भित्र्याएको छ ।

बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसी र आईएफसीका दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आईले एक आपसमा उक्त कर्जासम्बन्धी समझदारीपत्र आदान प्रदान गर्दै तेस्रो आवधिक कर्जाबापत दुई करोड ५० लाख अमेरिकी डलर भित्र्याएका    हुन् ।

योसँगै आईएफसीबाट यस्तो कर्जा तेस्रो पटक भित्र्याउने पहिलो बैंक बनेको सीईओ केसीले जानकारी दिएका छन् ।

आईएफसीले बैंकलाई विश्वास गरेर यस्तो कर्जा तेस्रोपटक प्रदान गरेको समेत उनले बताएका छन् ।

प्राप्त कर्जा क्रेडिट लाइनले कोभिड–१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपूर्ति गर्न र उक्त क्षेत्रमा नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको छ ।

हाल एनएमबि बैंकले देशभरी २०१ शाखा कार्यालय, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएको छ ।