फोहर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको संलग्नता छैनः राजेन्द्र लिङ्देन
काठमाडौँ—राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौँ महानगरको फोहर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको संलग्नता भएको भन्ने समाचारको खण्डन गर्दै आफ्नो पार्टीले फोहरमा राजनीति गर्नेजस्तो फोहरी काम नगर्ने बताएका छन्।
यस्ता खालका कार्यहरू भए कार्यकर्तालाई समेत कारबाही गरिने उनको भनाइ छ।
अध्यक्ष लिङ्देनले फेसबुकमा लेखेका छन्,’काठमाडौँको फोहर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको पनि संलग्नता भएको भन्ने समाचारको कडा खण्डन गर्न चाहन्छु। राप्रपा फोहरमा राजनीति गर्नेजस्तो फोहरी काम गर्दैन। फोहर बोकेका गाडीहरू अवरुद्ध गर्ने काममा राप्रपाको संलग्नता छैन र रहने छैन मात्र होइन, यसप्रकारका गतिविधिमा कुनै कार्यकर्ता संलग्न भएमा त्यस्ता कार्यकर्तालाई कारबाही समेत गर्नेछ। जिम्मेवार स्थानबाट गलत प्रचार हुनु उचित हैन। भविष्यमा यसप्रकारको गलत संदेश संप्रेषित नहुने अपेक्षासमेत गर्दछु।’