महेश बस्नेतको दाबी,‘काठमाडौं ध्वसंको क्षेत्र बन्ने निश्चित’

शनिबार, ११ भाद्र २०७९

काठमाडौं—नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयरहरुले नक्शा पास नभएका संरचनाहरुमा डोजर आतंक मच्चाए उपत्यका ध्वसंको क्षेत्र बन्ने निश्चित भएको र बस्न लायकको नरहने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताए । उनले डोजर आतंक मच्चाइरहने हो भने काठमाडौंबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको बताए । उनले केही मानिसले साथ दिए भन्दै कानून मिचेर जनतालाई दुःख दिने काम नगर्न पनि चेतावनी दिए । उनले आफनो निर्वाचन क्षेत्रमा ध्वसात्मक गतिविधि नगरी निर्माण गरेरै सुन्दर बस्ती बनाएको दाबी गरे । उनले निर्माणबाट नै सुन्दरता ल्याउन सकिन्छ भन्नेकुरा हेर्नका लागि आफनो निर्वाचन क्षेत्रमा जान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आग्रह गरे ।

उनले भने, ‘नक्शापास नभएका घरहरु, संरचनाहरुलाई डोजर लगाएर ठोक भनेर काठमाडौं भित्रका १८ जना मेयरले १८ वटा डोजर लिएर हिँडेभने उपत्यका बस्न लायकको रहँदैन । बस्न नालायक ठाउँ हुन्छ । भागेर जानुपर्छ, निर्माणको होइन, ध्वंसको क्षेत्र बन्छ । मिडियाका ४ हजार साथी लिएर प्रोत्साहन दिए भन्दैमा विधि कानून मिचेर, सिस्टमलाई फलो नगरी क्षतिपूर्ति नदिकन जनतालाई दुःख दिने काम नगरौँ । मैले मेरो जिल्ला, मेरो क्षेत्र नमूना बनाएको छु, ध्वंस होइन, निर्माण गरेर बनाउन सकिन्छ भन्ने कुरा भक्तपुरमा गएर हेर्नुहोस ।’