नेकपा कालिकोटको सचिवमा साहसी
कालिकोट – नेपाल कम्युनिस्ट पार्टी कालिकोटको सचिवमा साहसी निर्वाचित भएका छन् । जिल्लाको सान्नित्रिबेणीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट पदम विश्वकर्मा (साहसी) सचिवमा निर्वाचित भएका हुन् ।
साहासीको नेतृत्वमा ३९ सदस्सीय जिल्ला समिति निर्वाचित भएको छ । ‘राष्ट्रियता, आत्मसमर्पणवाद, दलाल संसदीय पूँजीवाद र सामाजिक फासिवाद विरुद्धको हाम्रो अभियान, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायका लागि वैज्ञानिक समाजवाद स्थापनाका लागि चौथों जिल्ला सम्मेलन’ भन्ने मूल नाराका साथ बुधबारबाट जिल्लाको शान्नित्रिवेणीमा सम्मेलन सुरु भएको थियो ।
सम्मेलनले जिल्ला सेक्रेटरीको रुपमा साहसीलाई नयाँ नेतृत्व रुपमा निर्वाचित गरेको छ । यसअघि जिल्ला सेक्रेटरी रहेका मनिलाल ऐडी (रणदिप) लाई विदाई गरिएको छ । उनलाई नयाँ जिम्मेवारी दिने नेकपाले जनाएको छ ।
नयाँ नेतृत्वलाई नेकपाका केन्द्रीय सदस्य तथा सम्मेलनका प्रमुख अतिथि भरत बम (रणवीर)ले बधाई दिदै एकीकृत जनक्रान्तिको कार्यभार पूरा गर्न नयाँ नेतृत्वलाई शुभकामना दिए । उनले दलाल पूँजीवादी सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति उल्लंघन गरेको भन्दै सरकारलाई सहमति कार्यान्वयन गर्न सबै क्षेत्रले दबाब दिनु पर्ने धारणा राखे ।
तीन बुँदे सहमति सरकारले कार्यान्वयन नगरे त्यसको परिणाम नकारात्मक हुने चेतावनी दिर्दै नेता बमले नयाँ नेतृत्वलाई जस्तो सुकै चुनौतिको सामना गर्ने हिक्मत राखेर जिल्लामा एकीकृत जनक्रान्तिको कार्यभार पूरा गर्न शुभकामना दिए ।
नयाँ निर्वाचित टिमलाई नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जुम्ला जिल्ला इन्चार्ज कर्ण भण्डारी (विराट)ले क्रान्तिको बाँकी अभिभारा पूरा गर्ने गरी अगाडि बढ्न सुझावसहित बधाई दिए । यस्तै जनपत्रिकाका व्यवस्थापक धनराज शाही, विशेष समितिका सदस्य हिमशिखर लगायतका नेताहरुले नयाँ निर्वाचित टिमलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बमले विगतमा कालिकोट वर्गसंघर्षको केन्द्रबिन्दु भएको र अहिले पनि वर्ग संघर्षको केन्द्रबिन्दुमै पर्ने भएको भन्दै एकीकृत जनक्रान्तिमा फेरी पनि कालिकोटे जनताको ठूलो योगदान आवश्यक भएको टिप्पणी गरेका थिए ।