पार्टीभित्र टिकट व्यवस्थापन गर्न गाह्रो भयोः माधवकुमार नेपाल
काठमाडौं—नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताएका छन् । अध्यक्ष नेपालले नगरेपनि हुन्थ्यो नि भन्नेहरुले पनि निर्वाचनमा टिकट लिनका लागि चर्को दाबी गरिरहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताएका हुन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै उनले उठेर दुई कदम पनि हिँडन नसक्ने वृद्धहरुले समेत टिकटको आकांक्षा राखेको बताए । अध्यक्ष नेपालले ती आकांक्षीहरुमा टिकट नपाउँदा बेहोस् हुने होकि भन्ने चिन्ता आफूलाई लागेको पनि बताए ।
उनले भने, ‘अब मंसिर ४ गते चुनाव हुन गइरहेको छ । सबैलाई टिकट चाहिएको छ । अव टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन । भनेपछि चाहना हेर्ने हो भने आकाशिएको छ । सबै एकदम काबिल भएर आएका छन् ।’
उनले थपे, ‘को काबिल, को काबिल छैन? त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं । नगरेपनि हुन्थ्यो नि दावा भन्ने पनि चर्को दाबी गरिरहेका छन् । उठेर दुई कदम हिँड्नसक्दैन बिचरा बुढो भइसक्यो । तैपनि मर्ने बेलामा एकचोटी त पाउँ, अरु केही भएन भने नाम भएपनि त्यहाँ टाँसिन पाउँ । के होला, कस्तो गाह्रो?’
अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरुलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराउनु भयो । त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उनको भनाइ थियो ।