समस्या र हारलाई सामना गर्न नसक्दा आत्महत्या गर्नेहरुको संख्या बढ्योः बालेन

आइतबार, २ असोज २०७९

काठमाडौं—काठमाडौं महानगरका मेयर वालेन्द्र साह (बालेन)ले जीवनमा आउने समस्याहरु र हारलाई सामना गर्न नसक्दा आत्महत्या गर्नेहरुको संख्या बढेको बताएका छन् । समस्या हेरक मानिसको जिवनमा आइलाग्छन्, हामीले त्यसको सामना गर्यौं भने भोलिका दिनमा त्यही चीज सबैभन्दा राम्रो भएर आउने उनको तर्क छ ।

नेपाल प्रहरीले आयोजना गरेको विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतना कार्यक्रममा बोल्दै उनले समस्याको समना गर्न नसक्ने र आफूलाई निकै नै कमजोर छु भन्ने मनस्थितिले समाजमा यस्तो घटाना बढ्ने गरेको उनको भनाइ छ ।

“हामी हार्नदेखि निकै नै डराइरहेका हुन्छौं । परीक्षामा फेल हुँदा,सोचेको जस्तो परीक्षाफल नआउँदा,कसैलाई प्रपोज गर्छौं त्यसको उत्तर नो आयो भने डराउँछौं । के चाहिँ बुझ्दैनौँ एक जनालाई प्रपोज गर्दा नो आए पनि अर्को १० जनालाई गरे भइहाल्यो नि । तर हामी त्यही एक जना बिना बाँच्नै सकिँदैन भन्ने सोच हन्छ त्यो त गलत कुरा हो । हामी निकै कमजोर छौँ भन्ने सोच्छौं । मलाई आउँदैन मेरो योग्यता छैन । सधै गाली गर्छन् किन राम्रो गर्न सकिरहेको छैन भन्ने सोचिरहेका हुन्छौं । तर त्यसले केही फरक पर्दैन तपाईको सबैभन्दा नराम्रो चिज नै पछि राम्रो हुन सक्छ ।”

सोही कार्यक्रममा बोल्दै महानगरकी उपमेयर सुनिता डंगोलले समाजिक सोच र मनस्थितिले गर्दा आत्महत्या गर्नेहरुमा पुरुषहरुको संख्या बढी रहेको बताएकी छिन् ।

खासगरी पुरुषहरु सामाजिक सोचका कारण आफूलाई गाह्रो भइरहेको कुरा मनभित्र दबाएर राख्ने र अरुलाई नबताउने हुँदा आत्महत्याको गलत बाटो रोज्ने गरेको पाइएको उनले सुनाइन् ।