निजि खर्चमा काठमाडौं आउँदै डा. केसी

बुधबार, ५ असोज २०७९

काठमाडौं— धनगढीमा अनसनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाडौँ आउँदै छन्।

सरकारको खर्चमा काठमाडौँ जान अस्वीकार गरेका केसी आज बेलुका आफ्नै खर्चमा काठमाडौँ जान तयार भएका हुन्।

२० औँ पटक कैलालीको धनगढीमा आमरण अनसनरत डा. केसीलाई सरकारले एयरलिफ्ट गर्न खोज्दा नमानेका हुन्।

आमरण अनसनको दशौँ दिन स्वास्थ्य बिग्रिएपछि थप उपचारका लागि उनी आफ्नै खर्चमा साँझ काठमाडौँ जाने उनका सहयोगीले जानकारी दिएका छन्।

उनी बेलुका ४ः४५ बजेको फ्लाइटमा धनगढीबाट काठमाडौँ जाने भएका हुन्।

काठमाडौँ पुगेपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने तयारी छ।

चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. केसीलाई काठमाडौँ लग्ने मंगलबारदेखि नै सरकारले प्रयास गरेको थियो। त्यसका लागि सेनाको हेलिकप्टर धनगढी विमानस्थल पुगेको थियो।

तर, विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका डा. केसीले सेनाको हेलिकप्टरमा जान भने मानेका थिएनन् ।