राष्ट्रपतिको हातबाट टीका लगाउने सोचमा हुनुहुन्छ ? यसरी गर्नुहोस् सम्पर्क
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैं २०७९ को अवसरमा सर्वसाधारणलाई टीका लगाइदिने भएकी छिन् । भण्डारीले यस वर्ष विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई विजया दशमीमा टीका प्रसाद प्रदान गर्ने भएकी हुन् ।
राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यही असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ । टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।
राष्ट्रपति कार्यालय सितल निवासमा दिउसो ३ बजे पुगेका सबैलाई टीका लगाइने राष्ट्रपति कार्यालयले जनाएको छ । २०७९ सालको बडा दशैंको साइत असोज १९ गते ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ । समितिका अनुसार असोज १९ गते १० बजेर ३४ मिनेटमा देवी विसर्जन गर्ने र ११ः५१ टिका लगाउँदा उत्तम हुनेछ । उक्त दिन दिनभर नै टिका ग्रहणको लागि उपयुक्त रहेको समितिले जनाएको छ ।