चुनाव नहुँदै घट्यो माओवादीको एक सिट
म्याग्दी – निर्वाचन नहुँदै प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रको एक सिट घटेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि म्याग्दीमा नेपाली कांग्रेसले प्रतिनिधिसभाको टिकट खोसेपछि माओवादीको एक सिट घटेको हो ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अन्तिम समयमा टिकट साटफेर गरेपछि माओवादीको प्रतिनिधिसभाको सिट घटेको हो । तर प्रदेशमा भने उसको दुई सिट बढेको छ । यसअघि केन्द्रबाट माओवादी केन्द्रलाई प्रतिनिधिसभा र कांग्रेसलाई प्रदेशसभाका दुबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने सहमति भएको थियो ।
जिल्लास्तरमा दुबै पार्टीका नेताहरूको छलफल गरी लिखित रुपमै केन्द्रलाई अनुरोध गरेपछि प्रतिनिधिसभामा कांग्रेस र प्रदेशका दुबै नेकपा माओवादीले लिएको छ। टिकटको विषयमा नेपाली कांग्रेसमा समेत असन्तुष्टी र माओवादी केन्द्रले समेत प्रदेशमा सहज हुने बताएपछि जिल्लाका नेताहरूको चाहना अनुसार नै केन्द्रबाट साटफेर भएर आएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ।
जिल्लामा भएको सहमति अनुसार म्याग्दीमा गठबन्धनबाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बीर र प्रदेश ‘क’ तर्फ नेकपा माओवादी केन्द्रका नेता हरि भण्डारी र प्रदेश ‘ख’ मा माओवादी केन्द्रकै जिल्ला संयोजक सुविन जुग्जालीले उम्मेदवार मनोनयन गराएका छन्।