व्यवसाय दर्ता गरेर मात्र चलाउन महानगरपालिकाको आव्हान
काठमाडौं— काठमाडौं महानगरपालिकाले व्यवसाय दर्ता गरेर मात्र चलाउन आव्हान गरेको छ । दर्ता नगरी सञ्चालन गरिरहेका व्यवसायीहरूलाई दर्ता गर्न ३० दिनको समय दिएको छ ।
महानगरले मङ्गलवार सूचना जारी गर्दै संघ र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरूले महानगरमा व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको भन्दै दर्ता गर्न ताकेता गरेको छ। दर्ता गर्न महानगरले त्यस्ता व्यवसायीहरूलाई ३० दिनको समय दिएको छ।
महानगरपालिकाको अनुगमनको क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिने सूचनामा भनिएको छ ।
महानगरका प्रवक्ता नवीन मानन्धरले ३० दिनभित्र पनि दर्ता नगरेका व्यवसाय बन्द गरिने नेपाल प्रेसलाई जानकारी दिए ।
महानगरले आर्थिक ऐन, २०७९ को अनुसूची७ को बुँदा नं ३ बमोजिम आर्थिक वर्ष २०७२–७३लाई आधार वर्षका रूपमा लिएर व्यवसाय कर असुली गरिने पनि जनाएको जनाएको छ।
पछिल्लो समय काठमाडौं महानगरले अवैध संरचना भत्काउने काम गरिरहेको छ ।