कांग्रेसीले हँसिया हथौडामा भोट हाल्न हिच्किचाउन पर्दैनः देउवा
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसीले हँसिया हथौडामा भोट हाल्न हिच्किचाउन नपर्ने बताएका छन्।
सत्ता गठबन्धनले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले आफूले पनि हँसिया हथौडामा भोट हालिसकेको सुनाए।
देउवाभन्दा अघि बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसीहरु हँसिया हथौडामा भोट हाल्न हिच्किचाउने गरेको तर्फ संकेत गरेपछि देउवाले यस्तो बताएका हुन्।
‘मैले त गएको चुनावमा हँसिया हथौडामा भोट हालिसकेँ, फेरि आउने चुनावमा हाल्दैछु, कांग्रेसका सबै साथीले बुझेका छन्’, उनले भने, ‘हँसिया भएको ठाउँमा हँसिया, कलम भएको ठाउँमा कलम, रुख भएको ठाउँमा रुखमा नै भोट हाल्ने हो यति गरे पुगिहाल्यो नि१ किन चाहियो अरु कुरारु’
उनले गठबन्धन दलबीच कुनै अविश्वास नरहेको भन्दै गठबन्धन राम्रोसँग चलेको बताए। प्रचण्डको प्रशंसा गर्दै देउवाले मुलुकमा स्थायी शान्ति ल्याएकोमा धन्यवाद समेत दिए।