नेपाल एयरलाइन्सको विमान रोकिएपछि एयरपोर्टमा तनाव
काठमाडौं – नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) को विमान दिल्ली उड्नबाट रोकिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तनाव भएको छ । ‘आरए २१७’ वाइडबडी विमानमार्फत दिल्ली जान कतिपय यात्रु अध्यागमन र सुरक्षा जाँच पार गरेर प्रतीक्षा कक्षसम्म पुगिसकेको विमान रोकिएपछि तनाव भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीले काउन्टरमा आएर के का आधारमा बोर्डिङ पास दिँदै हुनुहुन्छ ? भन्दै बोर्डिङ पास रोकेका थिए । त्यतिबेलासम्म ७३ जनाले बोर्डिङ पास लिइसकेका थिए ।
नेपाल एयरलाइन्सका कर्मचारीले लाइनमा रहेका यात्रुलाई भने, ‘माफ गर्नुहोला तत्काल उडान नहुने भयो ।’ त्यसपछि चेक–इन गरिसकेका यात्रुलाई पनि छानी–छानी फर्काइयो । नेपाल एयरलाइन्सका कर्मचारीले यात्रुलाई एकाध घण्टा धैर्य गर्न भने । नेपाल नागरिक उड्डयन प्राधिकरणसँग वार्ता भइरहेको र उड्न पाइने उनीहरुको भनाइ थियो ।
सो उडानमा २५४ जनालाई पठाउन टिकेटिङ भएको थियो । तर, एक घण्टापछि आज उडान नहुने जानकारी दिइयो । एकाएक उडान नै नहुने भनेपछि यात्रुहरु रनभुल्लमा परे । किन यस्तो भयो भन्दै सोधखोज गर्दा जवाफ आयो, ‘ दिल्ली उडानको तालिका नै रहेनछ ।’
तालिकामा नै नभएको उडानको टिकट किन बेचियो त ? भन्दै एयरलायन्सका कर्मचारीमाथि यात्रु खनिए । तर, कर्मचारीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणले नै ढिला गरी स्वीकृति उडान तालिकाबारे जानकारी गराएको दाबी गरे ।
१ः४५ बजे उड्नुपर्ने विमान उड्न नसक्ने जवाफ आएपछि दिल्ली जान विमानस्थलमा पुगेका यात्रु पनि आक्रोशित भए । चेक–इन एरियामा छिर्न नपाएका याुत्रलाई टर्मिनलभित्र पस्न दिइएन ।
अहिले पनि गैरजिम्मेवार ढंगले यात्रुहरुलाई अलपत्र पारिएको छ । उनी नेपाल एयरलाइन्सको काउन्टर घेरेर बसेका छन् । उनीहरु र एयरलाइन्सका कर्मचारीबीच पटक–पटक घम्साघम्सी परिरहेको छ ।
नेपाल एयरलाइन्सले केही यात्रुलाई अन्य दिल्ली उडान गर्ने भारतीय कम्पनीको विमानमा पठाउने आश्वासन दिएको छ भने कतिपय यात्रु अहिले पनि विमानस्थलको बाहिर नै अलमलमा छन् ।
जर्मनी जाँन हिँडेका एक यात्रु आफूसँग ‘नन रिफन्डेबल’ टिकट रहेकाले आज दिल्ली पुग्न नसके करिब २ लाख रुपैयाँ गुम्ने बताउँछन् । ‘यो लापरवाहीको हद हो, नेपाल एयरलाइन्स र नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वेच्छाचारितको पराकाष्ठा हो,’ नाम उल्लेख नगर्ने शर्तमा ती यात्रुले भने,’विदेशमा ट्रान्जिट गर्ने मजस्ता सयभन्दा बढी साथिहरु यहाँ अलपत्र पर्नुभएको छ ।’
कतिपयको उपचार र परीक्षासम्मको सवाल उडानसँग जोडिएको भन्दै आफूहरुले विमानस्थलबाट नबाहिरिने निर्णय लिएको सुनाए । ‘हामीलाई बाहिर नेपाल एयरलाइन्सको कार्यालयमै गएर कुरा गर्न जान भनिएको छ,’ तर हामी बाहिर जानवाला छैनौं,’ उनले भने ।
किन रोकियो विमान ?
नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृत तालिकाअनुसार नै उडान कटौती गरिएको त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुर बताउँछन् । उनका अनुसार ३० अक्टोबर २०२२ (आज) देखि २५ मार्च २०२३ सम्मका लागि ‘विन्टर सिजन’को उडान तालिका तय भएको छ ।
यो सिजनमा काठमाडौंबाट प्रति तीन उडानभन्दा बढी उडान गर्दा कम्तिमा एउटा उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान तालिका बनाउन प्राधिकरणले नेपाल एयरलाइन्सलाई भनेको थियो । तर, नेपाल एयरलाइन्सले पुरानै (समर सेड्युल) अनुसार नै तालिका प्रस्ताव पेश गरेको थियो । समर सेड्युलअनुसार नै टिकेटिङ गरिएको थियो ।
तर, प्राधिकरणले भैरहवाबट सेड्युल नराखेको भन्दै हप्तामा १४ वटा दिल्ली उडान गरिरहेको नेपाल एयरलाइन्सको उडान १० वटामा सीमित गर्ने निर्णय गरिदियो । आइतबार विहानको दिल्लीमा हुने उडान नियमित तवरमै भए पनि दिउँसोको उडान स्वीकृत तालिकामा नभएपछि रोकिएको ठाकुरले बताए ।
‘एयरलाइन्स र प्राधिकरणबीच समन्वय नहुँदा यात्रुहरु त मर्कामा परे नि ?’ भन्ने प्रश्नमा महाप्रवन्धक ठाकुरले भने, ‘यो एयरलाइन्सको विषय हो, उसले कसै गरी आफ्ना यात्रुलाई व्यवस्थापन गरेर दिल्ली पठाउला ।’
नेपाल वायुसेवा निगमका अधिकारीहरु भने प्राधिकरणले समयमै जानकारी नदिएकाले यस्तो अवस्था आएको भन्दै पन्छिएका छन् । तर, यात्रुहरु भने आफूहरुमाथि अन्याय भएको भन्दै विमानस्थलभित्रै चर्काचर्की गरिरहेका छन् ।