सार्वजनिक भयो नेपाल कम्युनिष्ट पार्टीको घोषणपत्र, के–कस्ता कुराहरु उल्लेख छन्?

सोमबार, १४ कार्तिक २०७९

काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उत्पादनका स्रोत–साधनहरू पुँजीपतिको नियन्त्रणमा गएकाले अर्थतन्त्रमा समस्या आएको बताएको छ । सोमबार सार्वजनिक गरिएको ‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९’को घोषणापत्रमा आफ्नो सरकार बने राष्ट्रिय उत्पादनलाई प्राथमिकता दिँदै यस्ता व्यवस्थालाई नियन्त्रण गरिने उल्लेख छ । ‘उत्पादनका स्रोत–साधनहरूमा दलाल पूँजीपतिहरूको नियन्त्रण रहनु नेपाली अर्थतन्त्रका आधारभूत समस्या हुन्,’ घोषणापत्रमा उल्लेख छ ।

नेपालको पछौटेपन, आयात आधारित राजस्वको मूल स्रोत, लगातार बढ्दै गइरहेको व्यापार घाटा, चर्को बेरोजगारी, युवाहरूको विदेश पलायन, कृषिबाट सक्रिय जनशक्तिको पलायन, वैदेशिक रोजगारीमा युवाको अत्यासलाग्दो पलायन, वार्षिक बजेटमा ऋणको निरन्तर वृद्धि पनि अहिलेका अर्थतन्त्रका समस्या रहेको उल्लेख छ । त्यसैगरी बजेटको पुँजीगत खर्च नहुने समस्या, महङ्गीको अचाक्ली वृद्धि, कालोबजारी, मिटर ब्याजीको शोषण, वित्तीय क्षेत्रमा मौलाएका विकृतीहरू, अभाव र गरिबी नेपाली अर्थतन्त्रका आधारभूत समस्या रहेको पनि घोषणा पत्रमा उल्लेख छ ।

आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न अर्थतन्त्रका उपयुक्त समस्याबाट मुक्त हुन नसकिने यो पार्टीको निष्कर्ष छ । कृषिको आधुनिकीकरण, स्वदेशी कच्चा पदार्थ आधारित उद्योग, ऊर्जालगायतका क्षेत्रमा उत्पादन एवं व्यापार वृद्धि तथा पर्यटन, व्यवस्थापन र सूचना तथा प्रविधिलगायत सेवा क्षेत्रको विकास एवं विस्तार गरेर परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नु मुख्य आर्थिक कार्यभार रहेको पनि उल्लेख छ ।