बिनाकारण पक्राउ परेका बज्राचार्यलाई तत्काल रिहा गर्न नेकपाको माग

आइतबार, ४ मंसिर २०७९

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला कमिटी सदस्य तथा ललितपुर महानगरपालिका सेक्रेटरी महेश बज्राचार्यलाई तत्काल रिहा गर्न नेकपाले म गरेको छ । प्रहरीले विनाकारण पक्राउ गरेको भन्दै उनलाई तत्काल रिहा गर्न नेकपा ललितपुरले माग गरेको हो ।

नेकपा ललितपुरले एक विज्ञप्ति जारी गर्दै बज्रचार्यलाई बिना सर्त यथाशीघ्र सम्मानपूर्वक रिहा गर्न माग गरेको हो । चुनावको पूर्वसन्ध्यामा बज्राचार्यलाई ललितपुरको मंगलबजारमा हिडिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

‘हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला कमिटी सदस्य तथा ललितपुर महानगर कमिटीका सेक्रेटरी क. महेश बज्राचार्यलाई दलाल सरकारको प्रहरीले बिनाकारण गिरफ्तार गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भए को छ।’ नेकपा ललितपुर जिल्ला सेक्रेटरी ललितद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ सर्वप्रथम पार्टी उक्त गिरफ्तारीको घोर भत्सर्ना गर्दछ।’

असफलसिद्ध संसदिय व्यवस्थालाई नवीकरण गर्ने कुत्सित षडयन्त्र स्वरुप घोषणा गरिएको मङ्सिर ४ को कथित संसदिय चुनावको पूर्वसन्ध्यामा भएको यसप्रकारको गिरफ्तारीले राज्यले नै संबिधानतः प्रत्याभूत स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने अधिकार कुण्ठित गरेको ललितको ठहर छ । उनले चुनाव खारेजको अभियानमा शान्तिपुर्ण बिरोध गर्न पाउने हकलाई समेत बन्देज लगाउने धृष्टता गरेको पुष्टि भएको बताएका छन् ।

‘गिरफ्तार क. महेश बज्रचार्यलाई बिना सर्त यथाशीघ्र सम्मानपूर्वक रिहा गर्न अनुरोध गर्दछौं । हाम्रो आग्रहलाई बेवास्ता गरेमा पार्टी संघर्षका दबाबमूलक कार्वाही गर्न बाध्य हुने कुरा पनि यसै बिज्ञप्ति मार्फत सम्बन्धि पक्षलाई जानकारी गराउन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।