राष्ट्रपति वा सभामुखमा नेकपा (एस)को दाबी, एक बर्ष प्रधानमन्त्री पनि चाहिने
काठमाडौं – नेकपा एकीकृत समाजवादी (एस) पार्टीले राष्ट्रपति वा सभामुख मन्त्री एक पद दाबी गरेको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय पार्टी समेत बन्न नसकेको एसले राष्ट्रपति वा सभामुख मध्ये १ पद माग गरेको हो ।
साथै, एक बर्षका लागि प्रधानमन्त्री पनि पाउन पर्ने पार्टी अध्यक्ष माधवकुमार नेपालले माग गरेका छन् । कांग्रेस र माओवादीबीच आधाआधा कार्यकाल भागबन्डा हुने चर्चा चलिरहेको वेलामा प्रधानमन्त्रीमा अध्यक्ष नेपालले पनि दाबी गरेका हुन् ।
केन्द्रमा मात्रै नभएर प्रदेशमा मुख्यमन्त्रीसहित सरकारमा आफ्नो पार्टीको सम्मानजनक उपस्थिति हुनुपर्ने पनि नेपालको माग छ । ‘अरूका लागिमात्रै हामीले कति त्याग गर्ने ?’, ती नेताले प्रश्न गर्दै भने, ‘हामीले गरेको त्यागअनुसारको प्याकेजमा पावर शेयरिङमा हाम्रो जोड रहन्छ । हामीले गठबन्धन गरेकै कारणले अहिले कांग्रेस पहिलो दल बन्न सकेको छ । माओवादीलाई पनि केही हदसम्म फाइदा नै भएको छ ।’
प्रत्यक्षमा गठबन्धनको आडमा १० सीट जिते पनि नेकपा एस समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बन्ने सम्भावना न्यून छ । त्यसो त बिहीबार नै शहरी विकासमन्त्री एवम् नेकपा एसका नेता मेटमणि चौधरीले त्यसको संकेत गरेका थिए ।
उनले भनेका थिए, ‘गठबन्धनकै सरकार निर्माणको विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख सबै पद प्याकेजमै सहमति हुन्छ । अब पाँच वर्ष गठबन्धनकै सरकार बन्छ । त्यसमा कन्फ्युज हुनुपर्ने केही कुरा छैन ।’