सानिमा बैंकको वार्षिक साधारणसभामा माछापुच्छ्रे बैंकको चर्चा, मर्जरमा जान दवाव

आइतबार, ३ पौस २०७९

काठमाडौँ – सानिमा बैंकको १८औं वार्षिक साधारणसभामा शेयरधनीहरुले माछापुच्छ्रे बैंकसँग मर्जरमा जान दवाव दिएका छन् । आइतबार सम्पन्न सभामा शेयरधनीहरुले माछापुच्छ्रे बैंकसँग सानिमा बैंकको धेरै कुरा मिल्ने भएकाले मर्जरमा जानपर्ने भन्दै दवाव दिएका हुन् ।

बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभामा अधिकांश शेयरधनीहरुले माछापुच्छ्रे बैंकसँग मर्जर गर्न दवाव दिएका हुन् । भर्जुअल माध्ययमबाट जोडिएका शेयरधनी अमृतनाथ रेग्मीले माछापुच्छ्रे बैंकसँग मर्जरमा जाँदा शेयरधनीहरुको लगानी सुरक्षित हुने धारणा राखेका थिए । ‘अब मर्जरमा जान तीन चार वटा बैंक बाँकी छ । त्यसमध्ये सिद्धार्थ, लक्ष्मी र माछासँग हाम्रो केही कुरा मिल्छ ।’, सभालाई सम्बोधन गर्दै उनले भने, ‘सिद्धार्थ र लक्ष्मी भन्दा पोखराको माछा (माछापुच्छ्रे बैंक) अलि राम्रो छ । सानिमा पनि एनआरएनएको लगानी भएको बैंक हो, माछामा पनि एनआरएनएको लगानी छ । यी दुई बैंक मर्जरमा जाँदा हाम्रो लगानी सुरक्षित हुन्छ ।’

उनको भनाईलाई शेयरधनी नवराज जोशी, व्यासकुमार शर्माले समर्थन गर्दै मर्जरमा जानु अनिवार्य बनेको बताए । ‘अरु बैंकहरु ४०/४५/५० अर्बको बन्दैछन् । हामी १२ अर्बमा बसेर के गर्ने ।’, शेयरधनी नबराज जोशीले भने, ‘प्रतिस्पर्धी बैंक बन्ने हो भने मर्जरको विकल्प छैन । माछापुच्छ्रे बैंकसँग मर्जरमा गयो भने शेयरधनीलाई अरुमा भन्दा फाइदा हुन्छ ।’

केही शेयरधनीले बैंकहरु मर्जरमा गएर ठूलो बैंक बन्ने कुरा राम्रो भए पनि मर्जर सम्बन्धी नेपाल राष्ट्र बैंकको नीति खराव भएको बताए । बैंकका शेयरधनी डम्बरु बल्लभ घिमिरे र शिवप्रसाद पौडेलले राष्ट्र बैंकका कर्मचारीहरुको स्वार्थका कारण बिगमर्जरको विषय उठेको बताए । ‘कर्मचारीहरुले आफ्नो स्वार्थ पुरा गर्नका लागि मर्जर सम्बन्धी नीति ल्याए ।’, घिमिरेले भने, ‘मर्जर गराउने राष्ट्र बैंकको नीति गलत छ । यसमा ठूलो कमिसनको चलखेल छ ।’

‘मर्जरमा गए केही शिर्षकमा सुविधा दिने र मर्जरमा नगए सुविधा कटौटी गर्ने राष्ट्र बैंकको जुन नीति छ, त्यो गलत छ ।’, शेयरधनी शिवप्रसाद पौडेलले भने, ‘मर्जर गराउने भए पहिला किन लाइसेन्स दिएको ?’

सभाले बैंकको १८औं वार्षिक प्रतिवेदन, लेखापरिक्षणको प्रतिवेदन, आर्थिक बर्ष २०७८/७९ को वित्तीय विवरण पारित गरेको छ । साथै, संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्तावसमेत सर्वसम्मतले पारित गरेको छ । सभाले सर्वसाधारण समूहको तर्फबाट संचालक समितिमा दुई जनालाई निर्वाचित गरेको छ । निर्वाचित हुनेहरुमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक आशुतोष उपाध्याय र रमेश कुमार पोखरेल रहेका छन् ।

त्यस्तै, सभामा लेखापरिक्षक नियुक्ती गर्ने विषयमा विवाद भएको थियो । लेखापरिक्षण शुल्क महङ्गो भएको भन्दै धेरै शेयरधनीले विरोध गरेका थिए । विरोधका बाबजुत टिआर उपाध्याय एण्ड कम्पनीलाई चालु आर्थिक बर्षका लागि लेखापरिक्षक नियुक्त गर्न प्रस्ताव बहुमतले पारित भएको छ । उक्त प्रस्तावमा केही शेयरधनीले ‘नोटअफ डिसेन्ट’ लेखेका छन् ।

सभामा शेयरधनीहरुले बैंकका पूर्वकार्यकारी अधिकृत भूवन दाहाललाई गालीको बर्षा गरेका थिए । उनले लेखेको पुस्तकमा शेयरधनीलाई अन्टसन्ट भनेको भन्दै अधिकाशं शेयरधनीले चुत्ताले हिर्काउने बताएका थिए ।

सभामा गुणराज भट्ट, चन्द्रनारायण श्रेष्ठ, अंगराज भारती, उद्यव प्रसाद घिमिरे, ब्रमदेव शाक्य, सुदिप श्रेष्ठ, भक्तप्रसाद उप्रेति, सत्रुधन श्रेष्ठ, दामोदर रेग्मी, इन्द्रकृष्ण श्रेष्ठ, रामगोपाल महर्जन, लबराज जोशी रउत्सव श्रेष्ठले वार्षिक प्रतिवेदनमा देखिएका कमीकमजोरीहरुलाई औल्याउँदै आफ्ना धारणा राखेका थिए ।