नवनिर्वाचित सांसदहरुलाई शपथ खुवाउने मिति तोकियो

सोमबार, ४ पौस २०७९

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरुलाई  शपथ ग्रहण गराउने मिति तोकिएको छ । संघीय संसद सचिवालयले एक सुचना जारि गर्दै पुस ७ गते शपथ ग्रहण समारोहको मिति तोकेको हो ।

प्रतिनिधिसभा बैठक कक्षमा दिउँसो १ बजेदेखि कार्यक्रम शुरु हुनेछ । माननीयहरु ११ बजे नै समारोह स्थलमा उपस्थित हुनुपर्ने सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ७५ बमोजिम सांसदहरुलाई ज्येष्ठ नागरिकले शपथ ग्रहण गराउने छन् ।

सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र,नेपाली नागरिकताको प्रतिलिपि, हालसालै खिचिएको दुई वटा पासपोर्ट साइजको फोटोसहित राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पोशाकमा उपस्थित हुन समेत भनेको छ ।

त्यस्तै,आफ्नो मातृभाषामा शपथ लिने सदस्यले मातृभाषा अनुवाद गरी तीन दिन अगावै सचिवालयलाई उपलब्ध गराउनुपर्नेछ ।