सुकुम्बासी समस्या समाधानको निम्ति सिंहदरबारमा बैठक

मंगलबार, ५ पौस २०७९

काठमाडौं— सिंहदरबारमा सुकुम्बासी समस्या समाधानको निम्ति बैठक बसेको छ । हिजो साँझ ५ बजे एक घण्टा सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा बैठक बसेको हो । शहरी विकास मन्त्री मेटमणि चौधरीको अध्यक्षतामा बैठक बसेको थियो । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साह,गृहसचिव विनोदप्रकाश सिंह,शहरी विकास सचिव सुरेश आचार्य,काठमाडौंका सिडिओ घनश्याम उपाध्याय,प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहरा पनि बैठकमा सहभागी थिए ।

त्यसैगरी अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका उद्धव तिमिल्सिना,काठमाडौं उपत्यका विकास प्राधिकरणकी प्रमुख जानुका ढकाल,प्रोजेक्ट हेड,सहसचिवहरुले हिजोको बैठकमा भाग लिए । त्यति धेरै जनाको सहभागितामा बसेको बैठकले के निर्णय गर्यो त? जनआस्थाको जिज्ञासामा एक जना सचिवले बताए, ‘राजधानीको अव्यवस्थित बसोबास विशेषगरी नदी किनारमा ओगट्नेलाई कसरी व्यवस्थापन गर्ने भन्ने उपायको खोजीमा जुटेका थियौं । सबैले आफ्ना कुरा राखे । सोलुसन आएन । त्यसैले शहरी विकास, भूमिसुधार,गृह,भूमि आयोग तथा काठमाडौंका मेयर बसेर छलफल गर्ने भन्ने निश्कर्ष निकालिएको छ ।’

उनले दुई पटक सूचना निकालेको कुरो कोट्याए पनि सुकुम्बासीको यकिन संख्याबारे जीब्रो चपाएको नगर विकासका एक जना कर्मचारीले बताए ।

तर,राजधानीका बागमती,विष्णुमति, मनोहरा,इच्छुमति, धोबीखोला नदी किनारमा कति सुकुम्बासी छन् भन्ने निर्क्यौल हालसम्म गरिएको छैन । बाग्मती सभ्यता समितिका उद्धवले आफूसँग त्यसको डाटा रहेको बताउँदै आए पनि हिजोको बैठकमा प्रस्तुत गर्न सकेनन् । उनले दुई पटक सूचना निकालेको कुरो कोट्याए पनि सुकुम्बासीको यकिन संख्याबारे जीब्रो चपाएको नगर विकासका एक जना कर्मचारीले बताए ।

सुकुम्बासीप्रति निकै आक्रामक देखिएका मेयर बालेनले बैठकमा समस्या समाधान छिटो गर्नुपर्यो भनी आफ्नो कडा अडान राखेको बताइन्छ । मेयर र काठमाडौं महानगरपालिकाले अनौपचारिक रुपमा नदी किनारमा रहेकामध्ये अधिकांश वास्तविक सुकुम्बासी नभएको दाबी गर्दै आएका छन् । उनीहरुमध्ये अधिकांश नक्कली रहेका र त्यहाँका घर तथा छाप्रा भाडामा लगाइएको विषयले हिजोको बैठकमा धेरै समय लिएको थियो ।