नारायणकाजी श्रेष्ठको गृह मन्त्रालय सम्हाल्ने चाहना अधुरै

मंगलबार, १२ पौस २०७९

काठमाडौं— माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको चाहना गृह मन्त्रालय सम्हाल्ने थियो तर भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाए । रवि लामेछाने गृह मन्त्री चुनिए लगतै श्रेष्ठको गृह मन्त्री बन्ने सपना अधुरो भएको हो । यसअघि उनले बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

यसअघि २०६४ सालमा भएको पहिलो संविधानसभामा उनलाई मन्त्रिपरिषदले मनोनित गरेको थियो । दोस्रो संविधानसभा निर्वाचन २०७० मा श्रेष्ठ माओवादी केन्द्रबाट मकवानपुरबाट चुनाव लडेका थिए तर, पराजित हुन पुगे ।

०७४ को प्रतिनिधिसभा सदस्यमाको चुनावमा गोरखा २ बाट पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईसँग पराजित भएका श्रेष्ठ २०७६ माघमा भएको राष्ट्रिय सभा सदस्यको चुनावमा गण्डकी प्रदेशबाट निर्वाचित भएका थिए ।

यसपटक पनि उनलाई परराष्ट्रमन्त्री बनाउने तयारी थियो । तर, गृहमा दाबी गरेका श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाए ।

बिपीबाट प्रभावित श्रेष्ठले नेपाली कांग्रेसको भातृ संस्था नेविसंघबाट राजनीति सुरू गरेका थिए, पछि कम्युनिस्ट भए । कांग्रेस छाडेर श्रेष्ठ मोहनविक्रम सिंह, निर्मल लामाले चलाएको नेकपा चौथो महाधिवेशनमा सामेल भएर कम्युनिस्ट बने ।

राष्ट्रियताको विषयमा तिखो बोल्ने श्रेष्ठले सार्वजनिक प्रशासनमा स्नातकोत्तर र अर्थशास्त्रमा स्नातक गरेका छन् । राजनीतिमा आउनु अगाडि उनी केही समय गणितका शिक्षक थिए । हेल्थ असिस्टेन्ट भएर केही समय काम गरे । सिद्धार्थ वनस्थली क्याम्पसमा उनले केही समय ‘नेपाल परिचय’ विषय पढाएका थिए ।

२०१६ सालमा गोरखाको जौबारीमा जन्मेका श्रेष्ठ विसं २०३३ सालदेखि राजनीतिमा छन् । २०४३ सालमा नेकपा ९चौम० को केन्द्रीय सदस्य बनेका उनी २०४८ सालमा प्रचण्डहरुसँगको एकतापछि बनेको नेकपा ९एकताकेन्द्र० मा श्रेष्ठ पोलिटब्यूरो सदस्य थिए ।

२०५१ सालमा एकता केन्द्र फटेर प्रचण्ड(बाबुरामले नेकपा माओवादी गठन गरे भने श्रेष्ठ एकता केन्द्रमै रहे । एकता केन्द्रको नेतृत्व करिब ८ वर्षसम्म श्रेष्ठले नै गरे । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६५ सालमा माओवादी र एकताकेन्द्रवीच पार्टी एकता भयो । त्यसपछि श्रेष्ठ माओवादीमा छन् । व्यक्तिगत जीवनशैलीमा सादगी ६३ वर्षीय श्रेष्ठ हालसम्म अविवाहित छन् ।