यो पटक भाषण कम, काम धेरै गर्छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले यो कार्यकाल भाषण कम, काम धेरै गर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्न आफू प्रधानमन्त्री भएको भन्दै सबैलाई एकजुट हुन अपिलसमेत गरेका छन् ।
नारायणी नमुना माध्यमिक विद्यालय, चितवनको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्रीको शपथग्रहण लिएर पहिलो क्याबिनेट बैठकबाट देशको अर्थतन्त्रमा सुधार गर्नुपर्ने ऐतिहासिक आवश्यकता, सङ्कटबाट पार लगाउनुपर्ने आवश्यकता, सुशासन कायम गर्नुपर्ने आवश्यकता, भ्रष्टाचार र बेथिति नियन्त्रण गर्नुपर्ने आवश्यकता, जनताले विभिन्न क्षेत्रमा पाइरहेका सास्तीहरुबाट मुक्त गर्नुपर्ने आवश्यकतालाई इङ्गित गर्दै निर्णय गरिएको थियो ।’
फरक प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले कुनै पनि राष्ट्रको सभ्यता र संस्कृतिको अनुशासन र विकासको आधारशीला भनेको शिक्षा भएको बताए । शिक्षाको गुणस्तरद्वारा नै एउटा सभ्य र अनुशासित समाजको निर्माण गर्न सकिन्छ र विकासलाई पनि दिगो रूपमा अघि बढाउन सकिने उनको भनाई थियो ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘यस पटक हरेक दिन देशको पक्षमा, जनताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई पुरा गर्दै जाने प्रतिबद्धता लिएको छु । मैले बाँकी जीवन विकास र सुशासनका लागि समर्पित गर्ने भनेर भनेको छु ।’