अर्थ मन्त्रालयले विमानस्थलको सञ्चालनमा सहयोग गर्नेछः अर्थमन्त्री
काठमाडौं— उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार पोखरा विमानस्थलको औपचारिक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अबको चुनौती विमानस्थलको सञ्चालन रहेको भन्दै अर्थ मन्त्रालयले पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
पौडेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गराउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । उनले भने, ‘विमानस्थलको सही र भरपुर सदुपयोग अब नयाँ एजेन्डा बनेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठनसँग पनि आवश्यक समन्वयन सरकारले गर्नेछ ।’
पोखरामा पर्यटकको ओइरो लागोस् भन्ने चाहनाका साथ यो विमानस्थल बनेको भन्दै अब यो चाहाना पुरा हुने उनले बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा जनप्रतिनिधि र जनताले अथक प्रयास गरेका बताए ।
यो विमानस्थल निमार्णमा रवीन्द्र अधिकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै पौडेलले स्वर्गीय अधिकारीको स्मरण समेत गरे ।
आफू पनि गण्डकीको माटोमा जन्मिएको बताउँदै उनले गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल बनाएका र अब यसलाई पर्यटकीय क्षेत्रसँग जोड्नुपर्ने बताए ।
उनले पोखरालाई पर्यटनको केन्द्रको रुपमा विकास गर्न सरकारले अन्य पूर्वाधार निमार्णलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।