मुखैमा आएको सत्ता गुमाउनु परेपछि देउवा भन्छन्, ‘सधैं आफूले सोचेजस्तो मात्रै हुदैन’
काठमाडौं— मुखैमा आएको सत्ता गुमाउनु परेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सधैं आफूले सोचेजस्तो मात्रै नहुने बताएका छन् ।
डा. प्रकाशशरण महतले ५ दलीय गठबन्धन टुटेर सबैभन्दा ठूलो दल कांग्रेस प्रतिपक्षमा पुगेपछि सभापति देउवाले यसबाट विचलित नहुन आग्रह गरेको कांग्रेस प्रवक्ता जानकारी दिएका छन् ।
केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले आफूले गठबन्धनलाई विश्वास गरे पनि विश्वासघात भएको टिप्पणी गरेको जानकारी दिए तर राजनीतिक दौडमा कहिलेकाहीँ यस्तो हुने भन्दै महतले यस्तो अवस्थाबाट कांग्रेस विचलित हुन नहुने भन्दै सभापतिले हौसला जगाउने काम गरेको जानकारी दिए ।
उनले भने, ‘सभापतिले आपसी विश्वासमा गठबन्धनलाई अगाडि बढाएको हो, कहिलेकाहीँ आफूले आकलन गरेजस्तो मात्रै हुँदैन तर पनि यसै चिन्ता गरेर बस्नुपर्ने केही छैन, कोही पनि विचलित नहोऊँ, वी विल कम ब्याक भनेर उहाँले हौसला बाँड्ने काम गर्नुभएको छ । हामी फेरि सशक्त भएर अगाडि बढ्छौं भन्ने सभापतिको कुरा छ ।’
महतले पनि आफूहरू गठबन्धनप्रति प्रतिबद्ध रहेको तर माओवादी अध्यक्ष प्रचण्डले विश्वासघात गरेको टिप्पणी गरे ।
अरुले गर्ने विश्वासघातमा चाहेर पनि केही गर्न नसकिने उनको भनाई थियो ।
प्रचण्ड नेतृत्वको सरकारमा सिद्धान्त नै नमिल्ने अनेक पार्टीको भीड रहेको भन्दै आफ्नै बोझ र विवादले यसको आयु लामो नहुने दाबी पनि उनले गरेका छन् ।