सरकारको न्यूनतम साझा कार्यक्रममा रास्वपाका धेरै एजेन्डाहरु समेटिएका छन्ः मुकुल ढकाल

आइतबार, २४ पौस २०७९

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्नो पार्टीका धेरै एजेन्डा समेटिएको कुरा बताएका हुन् ।

‘सरकारको न्यूनतम साझा कार्यक्रममा हाम्रा पार्टीका धेरै एजेन्डा समावेश भएका छन् । भ्रष्टाचार छानबिनदेखि सरकारी सेवा प्रवाह र सुशासनका कुरा छन् । पुराना कानुनलाई समयानुकूल परिमार्जन गर्ने, स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने, छाता विश्वविद्यालय ऐन ल्याउने, विदेशमा बस्ने नेपालीको मताधिकार सुरक्षित गर्ने, विद्युतीय मतदानको व्यवस्था मिलाउने, टाइम कार्ड लागू गर्ने, ६ महिनाभित्र नागरिकता समस्या समाधान गर्ने, ईगभर्नेन्स लगायतका एजेन्डा हाम्रै पार्टीका त हुन् नि,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै ढकालले भने ।

भ्रष्टाचार काण्डलाई किटेर भन्न त सक्नुभएन नि भन्ने धमलाको प्रश्नमा ढकालले भने, ‘यो सरकारका कामकाजको भाषा हो । तोकेर लेख्न मिलेन । त्यसैले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार छानबिन गर्न सक्ने भनेका छौं । यति लेखाउन सक्नु पनि अहिलेको उपलब्धि नै हो । हाम्रो एकल बहुमत भएको भए हाम्रै भाषा हुबहु आउँथ्यो । जनताले २० सिट दिनुभयो । अब आफ्नो हैसियत अनुसार काम गर्छौं ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पुस २६ गते १७९ मतसहित विश्वासको मत लिने दाबी पनि ढकालले गरे । प्रवक्ता ढकालले भने, ‘प्रचण्ड १६९ जना सांसदको समर्थनमा प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । त्यो संख्या यथावत् हुने देखिन्छ । त्यसमा बढेर १७९ पनि पुग्न सक्छ ।’

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा राजनीति भइरहेको पनि उनले औंल्याए । ढकालले भने, ‘हो, राजनीतिमा इमानदारिता र नैतिकता चाहिन्छ । उहाँको नागरिकता छानबिन चारपाँच वर्षदेखि जारी छ । यसबारे माघ ११ गते निर्णय गरिहाल्छ नि अदालतले । नागरिकता विवाद २० वर्ष लम्बियो भने रवि लामिछाने प्रधानमन्त्री नै नहुने त? उपप्रधानमन्त्री भएर निर्णय प्रक्रियामा हस्तक्षेप हुन्छ भन्ने हो भने प्रधानमन्त्री भए त झन् प्रभावित हुन्छ होला नि । हाम्रो पार्टीको १३८ सिट आएको भए रवि लामिछाने प्रधानमन्त्री हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो?’