जनताले असाधारण संकल्पको अपेक्षा गरेका छन्ः प्रचण्ड

सोमबार, २५ पौस २०७९

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संसद् आफूहरूको परीक्षाको केन्द्र भएको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनताले असाधारण संकल्पको अपेक्षा गरेको बताउँदै यो संसद् आफूहरूको परीक्षाको केन्द्र भएको बताएका हुन् ।

‘हामी भर्खरै जननिर्वाचित भएका छौं । जनताको हामीमाथिको समर्थन ससर्त छ भन्ने लाग्दछ‚ निःसर्त छैन । हामी सुशासन दिन सक्छौं वा सक्दैनौं ? जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं वा सक्दैनौँ ?’ दाहालले भने, ‘यो संसद् हाम्रो परीक्षाको केन्द्र पनि हो । जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेका छन् ।’

मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि सोमबार पहिलोपटक संसद् बैठक बसेको हो । बैठकमा सबै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।