गृहमन्त्रीले गरे कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खुल्ने दाबी

सोमबार, २५ पौस २०७९

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्ने दाबी समेत गरेका छन् । साथै उनले जनतासँग गरेको बाचा पूरा गर्न सरकारमा गएको प्रस्ट पारेका छन् । ती कामहरूले सुरुवात भैसकेको भन्दै लामिछानेले आफ्नो पार्टी र आफूमाथि समेत लाग्दै आएका आरोपहरूको सफाइ दिने प्रयास गरेका छन् ।

‘म छातीमा हात राखेर यो गरिमामय संसदमा भन्न चाहन्छु– म सम्बद्ध दलका कुनै पनि सांसदहरूबाट कुनै पनि किसिमको अनियमितता हुनेछैन । कहीँकतै नागरिकलाई दुख दिने काम हुनेछैन’, लामिछानेले भने, ‘कुनै काण्डहरूमा हामी मुछिनेछैनौँ । म बाचा गर्न चाहन्छु, मुलुक र मुलुकवासीका लागि हामीले हिजो गरेका बाचाहरू पूरा गर्न तयार भएर आएका छौँ । कुनै पनि दिन तपाईँहरूले हामीलाई साथ दिएका कारणले, हाम्रा सांसदहरूका कारणले आफ्नो शिर झुकाउनुपर्ने छैन ।’