नक्कली डकुमेन्टका कारण कारवाहीमा परे कन्सल्टेन्सी

शुक्रबार, २९ पौस २०७९

काठमाडौँ – एजुकेशन कन्सल्टेन्सीहरूले मनलाग्दी गर्न थाले पछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारवाही गर्न थालेकाे छ । मन्त्रालय अन्तरगतको ‘नो अबजेक्सन सर्टिफिकेट’ (एनओसी) लिन विद्यार्थीको गलत विवरण अपलोड गरी विद्यार्थीलाई दुःख दिएको भन्दै मन्त्रालयले कारवाही गर्न थालेकाे हाे ।

विद्यार्थीलाई अनायासै दुःख दिएको भन्दै मन्त्रालय अन्तरगतको एनओसी शाखाले१६ वटा कन्सल्टेन्सीलाई कारवाही गरेको शाखा प्रमुख तथा उपसचिव बासुदेव वस्थीले बताए । शाखाले  कन्सल्टेन्सी संचालकलाई गल्ति स्वीकार्न लगाएर लिखित स्पष्टीकरण सोधिएको वस्थीको भनाई छ । ‘कन्सल्टेन्सीले लापरवाही गरेर विद्यार्थीको अनलाइन फारम भरिदिए, फारम भर्दा एउटा नाम अर्काको डकुमेन्ट अपलोड गरिदिए, कसै–कसैले त शैक्षिक योग्यताको प्रमाणपत्र समेत नक्कली हालेको पाइयो ।’, मोटिभेट न्यूजसँगको टेलिफोन संबादमा वस्थीले भने, ‘विगत केही दिनदेखि यस्तै–यस्तै कारणले विद्यार्थीले दुःख पाउन थाले पछि हामीले कन्सल्टेन्सी संचालकलाई बोलाएर लिखित स्पष्टीकरण माग्ने गरेका छौँ । आजसम्म १५/१६ वटा कन्सल्टेन्सीले यस्तो गल्ती स्वीकार गर्दै माफी मागेर आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउने बताउनु भएको छ । अर्को चरणमा यस्तो भए थप कारवाही हुन्छ ।’

कन्सल्टेन्सीले एउटा व्यक्तिको नागरिकता अपलोड गदै अर्को व्यक्तिको शैक्षिक योग्यताको प्रमाणपत्र अपलोड गर्दा विद्यार्थीले दुःख पाएको उनको भनाई छ । ‘कसैले गैरनागरिकको आवेदन हालेका छन्, कसैले नावालक परिचयपत्रको ठाउँमा नागरिकताको प्रमाणपत्र हालेका छन्, कसैले २० बर्षको युवाको नावालक प्रमाणपत्र हालेका छन् ।’ उनले भने, ‘एनओसी निक्कै महत्वपूर्ण डकुमेन्ट हो । यसले विदेशमा डलर पठाउन पाउँछ । अध्यागमनको महत्वपूर्ण डकुमेन्ट हो । यसमा लापरवाही गर्न हुँदैन । गैरनागरिकलाई एनओसी दिन, नावालकलाई एनओसी दिन, एउटा व्यक्तिको नागरिकता र अर्को व्यक्ति शैक्षिक प्रमाणपत्रको आधारमा एनओसी दिन मिल्दैन । त्यही भएर पहिलो चरणमा हामीले कन्सल्टेन्सीलाई कार्यालयमै बोलायर लिखित स्पष्टीकरण सोधेका छौँ । उहाँहरु सुध्रिनुभएन भने थप कारवाही अगाडि बढाउँछौँ ।’

एनओसी लिन आउँदा सक्कली डकुमेन्ट नबोक्दा पनि विद्यार्थी समस्यामा परेको वस्थीको भनाई छ । ‘हामीले एनओसी लिन आउँदा नागरिकता र ट्रान्स्क्रीप्ट अनिवार्य गरेका छौँ । धेरै विद्यार्थीले सक्कली डकुमेन्ट बोकेका हुँदैनन् । त्यही भएर फर्किन परेको छ ।’, मोटिभेट न्यूजसँगको टेलिफोन सम्बादमा उनले भने, ‘किन विद्यार्थीले डकुमेन्ट बोक्दैनन् त भनेर अध्ययन गर्दा कसैको डकुमेन्ट दुतावासमा भएको पाइयो, कसैको कन्सल्टेन्सीले होल्ड गरेर राखेको पाइयो । यसरी अर्काको डकुमेन्ट कब्जा गरेर राख्दा पनि विद्यार्थीले सास्ती पाएका छन् ।’

उनले एनओसी लिन सम्बन्धीत व्यक्तिमात्र उपस्थित हुनपर्ने व्यवस्था रहेको समेत बताए । यदी कोही व्यक्ति आफै उपस्थित हुन नसक्ने अबस्थामा एका–घरका परिवार व्यक्तिलाई मात्र एनओसी दिने गरेको उनको भनाई छ । यो कार्यलयमा आफू आएपछि धेरै सुधार भएको र अझै धेरै सुधार गर्दै जाने उनको भनाई थियो ।

यसरी कारवाहीमा पर्नेमा पुतलीसडककाे नेपाल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी (एनआईईसी), ट्रिनिटी एजुकेशन, कलंकीकाे टिम कन्सल्ट लगायत रहेका छन् ।