प्रचण्डदेखि भड्कियो जनमत पार्टी, सरकारलाई दिएको समर्थनबारे विचार गर्ने
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उद्योग मन्त्रालयबारे कुरा टुंगिए पनि आफूहरुलाई जानकारी नै नगराई उनी पछि हटेको आरोप लगाउदै जनमत पार्टी प्रचण्डदेखि भड्किएको छ। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय जनमत पार्टीले पाउने पूर्वसहमति कार्यान्वयन नभएको भन्दै जनमत पार्टी प्रचण्डदेखी भड्किएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यति बेला सर्वदलीय बैठक बसिरहेको छ । असन्तुष्ट जनमत पार्टीका अध्यक्ष सीके राउत त्यसमा सामेल छैनन् ।
जनमत पार्टीका नेताहरुले काठमाडौंमा मात्रै नभई मधेस प्रदेशमा समेत आफूहरुसँगको सहमतिबाट सत्ता नेतृत्वकर्ता एमाले र माओवादी केन्द्र पछि हट्ने आसंका रहेको बताएका छन् ।
जनमत पार्टीका उपाध्यक्ष दीपक साहले भने, ‘उद्योगधन्दा खोल्ने र रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य छ । चुनाव पनि हामीले यसै भनेर जितेका हौं । तर अहिले पूर्वसहमतिबाट प्रधानमन्त्री किन पछि हट्नुभयो, थाहा भएन ।’
सरकारलाई दिएको समर्थनबारे पार्टीले विचार गर्ने उनले चेतावनी दिए । यद्यपि प्रचण्डले यसअगावै विश्वासको मत लिइसकेका छन् । प्रतिनिधिसभामा जनमत पार्टीका ६ सांसद छन् भने मधेस प्रदेशमा १३ सिट छ ।
मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आधा आधा कार्यकाल चलाउने सहमति भए पनि एमाले र माओवादी केन्द्र त्यसभन्दा पछि हट्न सक्ने आशंका जनमत पार्टीले गरेको छ । ‘उहाँहरु एकपछि अर्को एकलौटी निर्णय गरिराख्नुभएको छ, हामीसँग कुनै छलफल नै गरिराख्नुभएको छैन,’ जनमत अर्का एक नेताले भने, ‘हामीलाई यही रबैया प्रदेशमा पनि देखाउने हो कि भन्ने आशंका छ ।’
प्रचण्डले खानेपानी मन्त्रीमा खानको नाम राखेर राष्ट्रपति कार्यालयमा शपथ ग्रहणको सूची पठाएका थिए । तर जनमतले उक्त पद अस्वीकार गरेको हो । प्रधानमन्त्रीले अहिलेको ‘त्रुटि’ सच्याउन चाहेमा आफ्नो असन्तुष्टि र आगामी रणनीतिबारे पुनर्विचार गर्न सकिने जनमत पार्टीले बताएको छ ।