अर्थतन्त्र किन चिन्ताजनक अवस्थामा पुग्यो? –अर्थमन्त्री पौडेल

बुधबार, ४ माघ २०७९

काठमाडौं— अर्थमन्त्री विष्णु पौडेलले भूकम्पले ढाल्न नसकेको, नाकाबन्दीले झुकाउन नसकेको र कोभिड-१९ को पनि सामान गरेको अर्थतन्त्र किन चिन्ताजनक अवस्थामा पुग्यो? भन्दै प्रश्न गरेका छन् ।

बुधबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको अर्थतन्त्र स् अबको बाटो विषयक कार्यक्रममा उनले सबै समस्या सामाना गरेको नेपालको अर्थतन्त्र किन चिन्ताजनक भयो भन्ने प्रश्न अर्थमन्त्री भएदेखि नै आफ्नो मनमा रहेको बताए ।

‘मेरो मनमा यौटा प्रश्न छ, हामीले अर्थतन्त्रले धेरै ठूलो प्रहार सहनु परेको छ । भूकम्प र नाकाबन्दी हामीले सामना गर्‍यौं । कोभिड संसारले भोगेको हो,’ उनले भने, ‘भूकम्प जस्तो चुनौती सामना गरेको, भूकम्पले ढाल्न नसकेको, नाकाबन्दीले झुकाउन नसकेको अर्थतन्त्र सम्हाल्दै आएका हौं, सरकार, निजी क्षेत्र र सरकारले सहकार्य गर्दै जोगाएका थियौं ।’

‘कोभिडमा पनि सामना गर्न सकेका र आज भूकम्प छैन, नाकाबन्दी छैन, कोभिड व्यवस्थापन भइसकेको भएपनि हामी आर्थिक रुपमा किन चिन्ताजनक अवस्था छौं?,’ उनले प्रश्न गर्दै भने, ‘किन सक्षम पाइलट खोज्ने अवस्थामा आयौं रु किन इन्जिन चेक गर्ने अवस्थामा आयौं?’

अहिले जे जस्ता समस्याको चर्चा भइरहेको छ ११ पुसमा अर्थ मन्त्रालयमा छिरेदेखि त्यसको अध्ययन गरिरहेको उनले बताए । ‘म अहिलेपनि अपेक्षा र गुनासा सुन्दैछु । यो समस्या यही रुपमा रहन दिनु हुँदैन । म समस्याका विरुद्ध सार्थक र निर्णायक प्रहार गर्ने योजना छु,’ उनले भने, ‘समाधानका उपाय अगाडि सारेर अर्थतन्त्रलाई अगाडि बढाउने छु । राजस्व परिचालनको चिन्ताजनक अवस्था कसरी समाधान गर्ने रु करको दायर बढाउने, राजस्व प्रशासनमा सुधार र माग बढाउने बारे अध्ययन गर्दैछु ।’

उनले खर्चमा कसरी व्यवस्थापन गर्ने भन्ने समस्या रहेको बताउँदै पूँजीगत खर्च बढाउन प्रभावकारी प्रयास गर्ने बताए ।

‘उत्पादन क्षेत्रको खर्च बढाउँदै अनुत्पादक क्षेत्रको खर्च घटाउँछौ, सरकार मितव्ययी बन्छ, आर्थिक अनुशासन कायम गर्छौं,’ उनले भने, ‘निजी क्षेत्रको मनोबल बढाउन, निजी क्षेत्रका कुरा सुनेर, आत्मबल बढाएर हामी अगाडि बढ्छौं । समस्या समाधान पनि यसै गरी हुनेछ । सरकार तपाईंहरुको सामु अभिवावक बन्छ, सरकारका समस्या पनि निजी क्षेत्रले बुझ्नु पर्छ।’