एक वर्षभित्र मुलुकलाई पुग्ने गरी विद्युत उत्पादन गर्नेछौंः दिपकबहादुर सिंह
काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिञ्चाई राज्यमन्त्री दिपकबहादुर सिंहले नेपाल विद्युत प्राधिकरणले एक वर्षभित्र मुलुकलाई पुग्ने गरी विद्युत उत्पादन गर्ने उल्लेख गर्दै उनले त्यसको खपत हुनेगरी विद्युतीय चुल्होको व्यवस्था मिलाउन पनि मातहतका निकायलाई निर्देशन दिए ।
सिंहले १ वर्ष भित्रमा मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गरेका छन् । बुधबार ‘विद्युतीय चुलो राष्ट्रिय अभियान’ ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै राज्यमन्त्री सिंहले गुणस्तरीय विद्युतीय चुल्होको आयात गर्न पनि सरोकारवाला पक्षलाई सचेत गराए । गरिब जनताको घरमा टिकाउ हुने खालको विद्युतीय चुल्हो पुर्याउनुपर्ने उनको भनाई थियो । राज्यमन्त्री सिंहले विद्युतीय चुल्हो ग्याँसभन्दा सस्तो हुने भएकाले जनतालाई सो कुरा बुझाउन घरघरमा अभियाननै सञ्चालन गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए ।
उनले खाना पकाउने ग्याँसका लागि मुलुकको ठूलो धनराशी देश बाहिर गएको भन्दै त्यसलाई रोक्न पनि विद्युतीय चुल्होको खपत बढाउनुपर्ने तर्क समेत गरे । राज्यमन्त्री सिंहले भने, ‘अनुदान त्यो वर्गको पाउनुपर्दछ, जुन वर्गलाई आवश्यक छ । आज ८ हजार चानचुन यो बिजुलीको चुल्हो बाँड्ने भनिएको छ । २९ सय चुल्होचाहीँ त्यो वर्गले पाउनेवाला छ । त्यो पूरा गर्न सकेन । गाउँबाट, विकट एरियाबाट आएको विद्यार्थीहरुले त्यो पाउन सकेन । आज गाउँबाट गरिबका छोरा काठमाडौँ पढन आइराखेका छन् । एउटा कोठामा ४÷४ जना बसेर पढनु परिराखेको छ । मिलेर विद्यार्थीहरु पढेर बसिराखेका छन् । पुरानो घरमा बसीरहनुपरेको छ । त्यो घरमा हामीले बिजुलीले चुल्हो प्रयोग गर्न धान्दैन । त्यो चुल्हो उहाँहरुको खाटमुनि थन्किन्छ । त्यतातिर पनि सरकारी पक्ष र सरोकारवाला पक्षले पनि सोच्नुपर्ने अवस्था मैले देखेको छु ।’
उनले भने, ‘आज जुन वर्गलाई हामीले लक्षित गरेका छौं । कृषि मन्त्रालयले करोडौंको अनुदान दिएको छ । त्यसको सदूपयोग भएको मलाई थाहा छैन । नेताका छोराछोरी, भाई, कार्यकर्ताहरुले अनुदान करोडौं रुपैयाँको पाएको छ । फिर्ता गर्नु पर्दैन । यस्तो अवस्था छ मुलुकको । ती विद्युतीय चुल्होको पनि कमीकमजोरीहरुले गर्दाखेरी त्यो दिन पाएको छैन । मलाई विश्वास छ–क्वालिटीमा यहाँहरुले कम्परमाईज गर्नु हुनेछैन । तर अलिकति महंगो होस् । मार्केटमा आएको यी चुल्हाहरु गरिव जनताको घरमा जाँदाखेरी केही समयसम्म ढुक्क भईकन चलाउन सक्ने गरी इम्पोर्ट गर्नका लागि सरकारको तर्फबाट पनि, यहाँहरु विज्ञ र विशेषज्ञहरुको तर्फबाट पनि सल्लाह, सुझाव र हामीले झक्झक्याउने ठाउँमा, हामीले बोल्नुपर्छ भन्ने ठाउँमा हामीले गर्नुपर्छ ठाउँमा गर्नेछौं भन्ने बचन दिन चाहन्छु । आज वास्तवमा भन्ने हो भने केही वर्ष भित्रमै, एक वर्ष भित्रमा हामीलाई चाहिने विद्युतहरु प्राधिकरणले उत्पादन गर्दैछ । र, यदि यो विद्युतीय चुल्हो हिमालदेखि तराईसम्म, मेचीदेखि महाकालीसम्मका जनतालाई यो चुल्होले यो यो फाइदा गर्छ । स्वास्थ्यलाई फाइदा गर्छ । ग्याँस किन्नका लागि भइरहेको भारी डलरलाई बचाउन सक्छौं ।’
राज्यमन्त्री सिंहले भने, ‘४० प्रतिशतसम्म सस्तोमा जनताले उपयोग गर्न सक्छन भन्ने कुरा जनतालाई हामीले सिकाउन सक्नु पर्दछ । यो अभियान घरघरमा पु¥याउन सकियोभने मुलुकको ठूलो धनराशी बचत हुन्छ । जनताले सस्तोमा खाना पकाउन पाउनेछन । उनीहरुको स्वस्थ्य समस्या पनि कम भएर जानेछ ।’ राज्यमन्त्री सिंहले विद्युतीय चुल्होका लागि दिइएको अनुदान दूरुपयोग नगर्न पनि कडा निर्देशन दिए । नेताहरुका छोराछोरी र कार्यकर्ताहरुले मात्रै सो अनुदान सहायता पाउने गरेको आफूले जानकारी पाएको उल्लेख गर्दै सो अनुदान लक्षित समूदायमा पु¥याउनुपर्ने उनको भनाई थियो ।