घनश्याम भूसाललाई महासचिवको जिम्मेवारी दिने नेकपा एसको तयारी

बिहिबार, १२ माघ २०७९

काठमाडौं— नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूसाललाई महासचिवको जिम्मेवारी दिने भएको छ । उनले हालै मात्र सो पार्टी प्रवेश गरेका हुन ।

एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउन लागिएको हो ।

यसको औपचारिक निर्णय भने २१–२२ माघमा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट हुने छ ।

चुनावअघि एमाले त्यागेका भूसाल २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

यसैबीच नेता बामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउने प्रयास एकीकृत समाजवादीले गरेको छ ।

गौतमले यसबारे एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल लगायतसँग औपचारिक–अनौपचारिक संवाद गरिरहेका छन् ।

गौतमले केही सैद्धान्तिक विषयमा आफ्नो व्याख्या गर्दै दस्तावेज एकीकृत समाजवादीलाई बुझाएका छन् ।

आफू एमाले नजाने र आफ्ना कुरा सम्बोधन भए एकीकृत समाजवादीमै आउने बचन गौतमले दिएको एक नेताले जानकारी दिए ।

गौतम पार्टीमा आए उनलाई बरिष्ठ उपाध्यक्ष पद दिने तयारी एकीकृत समाजवादीको छ । गौतम तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा पनि वरिष्ठ उपाध्यक्ष थिए ।