ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

शुक्रबार, १३ माघ २०७९

काठमाडौं – ई–सेवाको कर्मचारी भन्दै ठगी गर्ने एक पक्राउ परेका छन् । १६ लाखभन्दा बढी ठगी गरेको आरोपमा रौतहटका शुभम साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साहले ई–सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनले ई–सेवा आईडी बैंक खातामा लिंक गराइने, आईडी नवीकरण गर्ने, केवाईसी फर्म अपडेटलगायतका बहानामा सेवाग्राहीको अकाउण्टमा अनधिकृत पहुँच पुर्‍याएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

साहले त्यसरी १६ लाख १३ हजार ठगी गरेको अनुसन्धानबाट पाइएको छ । आफूलाई ठगी गरेको भन्दै ३० भन्दा बढी सेवाग्राहीले उजुरी गरेपछि अनुसन्धान गर्दा साहलाई पक्राउ गरिएको कोइरालाले बताए । घटनाको थप अनुसन्धान भइरहेको र अरु पनि सेवाग्राही ठगिएको हुनसक्ने प्रहरीको अनुमान छ ।