निर्वाचन आयोगद्वारा कानुनको उल्लंघन
काठमाडौँ– निर्वाचन आयोगले कानुनको उल्लंघन गरेको छ। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति घोषणा गर्दा कानुनको उल्लंघन गरेको हो।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ ले कार्यकाल सकिनुभन्दा एक महिनाअघि चुनाव गर्नुपर्ने व्यवस्था गरे पनि आयोगले त्यसलाई अवज्ञा गर्दै मिति घोषणा गरेको हो। सोमबार बसेको आयोगको बैठकले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते गर्ने निर्णय गरेको छ।
संविधानको धारा ६३ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुने र कार्यकाल निर्वाचित भएको मितिदेखि सुरु हुने व्यवस्था गरेको छ। ऐनअनुसार चुनाव गराउँदा माघ २९ गतेअगावै राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्नुपर्ने भए पनि आयोगले फागुन २५ र चैत ३ मा पुर्याएको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको सन्दर्भमा संविधान र ऐन बाझिएको हुँदा देशमा एकैपटक दुई जना राष्ट्रपति हुन नदिन संविधानलाई हेरेर मिति तय गरेको बताए।
उनले देश सञ्चारसँग भने, ‘संविधानसँग ऐन बाझिएको देखियो। हामीले सरकारसँग सच्याइदिनस् पनि भनेका हौँ। त्यसो भएन। त्यसैले एकैपटक देशमा दुई जना राष्ट्रपति हुन नदिन राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति घोषणा गरेका हौँ।’