गृहमन्त्रालयको अडानबाट रवि र रास्वपा दुवै पछि हट्यो
काठमाडौँ – गृहमन्त्रालय नै पाउनुपर्ने अडान राख्दै २ दिने अल्टिमेटम दिएको राष्ट्रिय स्वतन्त्र पार्टी अडानबाट पछाडि हटेको छ ।
बिहीबार केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सत्ता गठबन्धनको सहमति अनुसार गृहमन्त्रालय आफ्नो दललाई दिनुपर्ने भन्दै २ दिने अल्टिमेटम दिएको थियो । रास्वपाका सभापति रवि लामिछानेलाई नै गृहमन्त्रालय फेरि दिनुपर्नेमा लबिङ गर्दै आएको रास्वपा यो अडानबाट पनि ब्याक भएको प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ ।
दुई दिने अल्टिमेटम दिएको भए पनि रास्वपाले गृहमन्त्रालयको दाबी छोडेको छ’, प्रधानमन्त्रीनिकट स्रोतले भन्यो ‘गृहसँगै उनीहरूले गैरसांसद रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनुपर्ने अडान पनि छोडेका छन् ।’
माओवादी स्रोतका अनुसार भौतिक पूर्वाधार वा अर्को कुनै मन्त्रालय लिनेगरी गरी रास्वपा नयाँ सहमति गर्न लगभग तयार भएको छ । गृहमन्त्रालय नपाउँदा सरकार छोड्दाको हानिनोक्सानी र आलोचना उनीहरूले नै धेरै बेहोर्नुपर्ने भएपछि उनीरूले गृह र रविको दुवै दाबी छोड्ने मनस्थिति बनाएका हुन्’, माओवादी स्रोत भन्छ, ‘पार्टी बैठकमा पनि तत्काल गृहमन्त्रालय नपाउँदा सरकार छोड्ने निर्णयले पार्टीको निर्णय हचुवा र आलोकाँचो हुने दबाबपछि उनीहरू नरम बनेका हुन सक्छन् ।’