चितवनमा उपनिर्वाचन गर्नुपर्दैन रविको उम्मेदवारी नै अबैध छ म स्वत निर्वाचित हुँ : उमेश श्रेष्ठ

आइतबार, २२ माघ २०७९

काठमाडौं –  नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले चितवन २ मा उपनिर्वाचन गर्नु नपर्ने  बताएका छन् ।  रवि लामिछानेको सांसद पद खारेज भए पनि चितवन–२ मा उपनिर्वाचन गर्न आवश्यक नभएको बताएका हुन् ।

आइतबार पत्रकार सम्मेलन गरी उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको उम्मेदवारी नै अवैध भएकाले आफू स्वतः निर्वाचित हुने भएकाले चितवन २ मा उपनिर्वाचन गर्नु नपर्ने दावीगरेका हुन् ।

सो क्षेत्रबाट ४९ हजार २६४ मत ल्याएर निर्वाचित भएका लामिछाने पदमुक्त भएपछि दोस्रो धेरै मत ल्याउने आफूलाई निर्वाचित घोषणा गर्न उनले माग गरेका छन् ।

४ मंसिरको चुनावमा श्रेष्ठले चिवतन–२ बाट १४ हजार ९८३ मत पाएका थिए । ‘कानुनको नजरमा उनी निर्वाचित सांसद होइनन्’, श्रेष्ठले भने, ‘उपनिर्वाचन हुन विधिवत निर्वाचित भएको हुनुपर्दछ ।’

उनले अगाडि भने, ‘वैधानिक उम्मेदवारमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने म हुँ । यो तथ्यलाई निर्वाचन आयोगले अस्वीकार गर्न मिल्दैन ।’

श्रेष्ठले आफूलाई स्वतः निर्वाचित गर्न माग गर्दै आइतबार निर्वाचन आयोगमा निवेदन पेश गरेका छन् । आयोगले आफ्नो पक्षमा निर्णय नलिए सर्वोच्च अदालतमा जाने उनले बताए । कानुन व्यवसायीहरुको राय अनुसार अघि बढेको श्रेष्ठको भनाइ छ ।

संविधानले व्यवस्था गरेको प्रावधान भन्दा पृथक अवस्था रहेकाले नयाँ नजिर स्थापना हुनुपर्ने श्रेष्ठको जिकिर छ ।