लोसपाको पनि राष्ट्रपतिको निर्वाचन लड्ने तयारी, को बन्दै छ उम्मेदवार ?
काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउनबारे छलफल सुरु भएको छ ।
दलहरुबीचमा राष्ट्रपति कुन पार्टीबाट बनाउने भन्ने छलफल चलिरहेका बेला लोसपामा पनि अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेबारे छलफल सुरु भएको हो ।
राष्ट्रपतिको विषयमा छलफल गर्न सत्तारुढ दलहरुको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर निर्णय गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको छ । बुधबार ओली निवासमा बालकोटमा दुई नेताबीचको भेटवार्तामा यस्तो सहमति भएको हो ।
यसैबीचमा लोसपाले अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने जनाएको छ । पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले राष्ट्रपति मा साझा व्यक्ति हुनुपर्ने भएकाले त्यसका लागि ठाकुर उपयुक्त रहेको बताए ।
राष्ट्रपति देशको अभिभावक, संविधान रक्षक भएकाले त्यसमा पार्टीले ठाकुरलाई उपयुक्त पात्रका रूपमा देखेको उनले बताए । पार्टीमा ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन कुनै समस्या नरेको भन्दै उनले त्यसका लागि दलहरुबीचमा सहमति हुनुपर्ने बताए ।
हालसम्म कुनै दलसँग यस विषयमा छलफल नभएको बताउँदै उनले आफ्नो राष्ट्रपतिबाट ठाकुरलाई राष्ट्रपतिको उम्मेदवारमा प्रस्ताव गर्ने बताए । दलहरुको छलफलमा ठाकुरको प्रस्ताव लगिने भन्दै उनले त्यसमा सहमतिको प्रयास पनि गरिने बताए ।
भण्डारीले दलहरुबीच सहमति भए ठाकुर सबैको साझा उम्मेदवार हुने बताए । लोसपाका अध्यक्ष महन्थ ठाकुर कांग्रेसबाट विद्रोह गरेर तराई मधेस लोकतान्त्रिक पार्टी खोलेपछि सो पार्टी पटकपटक सरकारमा गएको छ ।
ठाकुरले आफू धेरै पटक मन्त्री भएकाले अब मन्त्री नभई प्रधानमन्त्री वा राष्ट्रपतिमा बन्ने धारणा राख्दै आएका छन् । यसअघि पनि ठाकुर राष्ट्रपतिमा चर्चा र छलफल हुने गरेपनि यो पटक भने पार्टीले नै औपचारिक रूपमा प्रस्ताव लाग्ने तयारी गरेको छ ।