राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमन्त्रीहरूले एकैसाथ छोडे मन्त्री क्वार्टर

बिहिबार, २६ माघ २०७९

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमन्त्रीहरूले एकैसाथ पुल्चोकस्थित मन्त्री क्वार्टर छोडेका छन्।

पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले एकैसाथ मन्त्री क्वार्टर छोडेका हुन्।

तीनै जनाले बुझबुझारथ गरी क्वार्टर खाली गरिसकेको शहरी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रदीप परियारले बताए।

लामिछाने र अर्यालले मंगलबार क्वार्टर छाडेका थिए भने खनालले बुधबार छाडेका हुन्। पूर्वस्‍वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की भने मन्त्री क्वार्टरमा सरेकी थिइनन्।

गत आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने गरी आफ्ना मन्त्रीहरूलाई भने फिर्ता बोलाउने निर्णय गरेको थियो।

सोही दिन तत्कालीन मन्त्रीहरू अर्याल, खनाल र कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए।