गभर्नरको खल्तिमा ३६ वटा गाडी, नेतादेखि कर्मचारीले गर्छन् प्रयोग

शुक्रबार, २७ माघ २०७९

काठमाडौँ – नेपाल राष्ट्र बैंक नेपाल सरकारको आर्थिक सल्लाहकार हो । आर्थिक बृद्धि नियन्त्रण गर्ने, अर्थतन्त्रको दिगो विकासका लागि मूल्यको स्थायित्व र भुक्तानी सन्तुलन कायम गर्ने, यसका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति तर्जुमा गरी व्यवस्थापन गर्ने, बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी वित्तीय सेवामा पहुँच अभिवृद्धि गरी बैंकिङ तथा वित्तीय प्रणालीप्रति जनताको विश्वास अभिवृद्धि गर्ने, सुरक्षित, स्वस्थ र प्रभावकारी भुक्तानी प्रणाली विकास गर्ने काम राष्ट्र बैंकको हो ।

यी कामलाई सहज बनाउन केन्द्रीय बैंकमा एक जना गभर्नर, दुई जना डेपुटी गभर्नर, १८ जना कार्यकारी निर्देशक र ५७ जना निर्देशकहरु नेतृत्वमा छन् । उनीहरुले आफ्नो हैसियत अनुसारका सवारी साधनहरु प्रयोग गरिरहेका छन् । बैंकका प्रदेशस्तरिय कार्यालयका हाकिमहरुलाई पनि सवारीसाधन सुविधा दिइएको छ । बैंकले गभर्नर, डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरु र निर्देशकहरुलाई ७८ वटा सवारी साधनको व्यवस्था गरिदिएको छ ।

त्यस्तै, प्रदेश १ को विराटनगर कार्यालयमा ४, मधेश प्रदेशको जनकपुर र विरगंजमा ६, लुम्बिनी प्रदेशको नेपालगंज र सिद्धार्थनगरमा ७, गण्डकी प्रदेशको पोखरामा २, कर्णाली प्रदेशको सुर्खेतमा २ वटा र सुदुरपश्चिम प्रदेशको धनगढीमा ४ गरी २५ वटा सवारी साधनहरु उपत्यका बाहिरका कार्यालयहरुले उपभोग गरिरहेको छन् । ३ वटा सवारी साधनहरु चालु अवस्थामा छैनन् भने एउटा मोटरसाइकल कार्यालयको काममा प्रयोग भइरहेको छ ।

यसरी हेर्दा बैंकमा जम्मा १ सय ७ वटा सवारी साधन प्रयोगमा आएको देखिएको छ । बाहिरी कामका लागि जम्मा कति वटा सवारी साधन प्रयोग भएको होला ? अनुमान लगाउँ, ५ वटा, १० वटा, १५ वटा, २० वटा, हाम्रो अनुमान विल्कुल गलत सावित हुन्छ । नेपाल राष्ट्र बैंकमा ३६ वटा सवारीसाधन प्रयोगविहिन भएर बसेका छन् । बैंकमा रहेका १४३ सवारीसाधनमध्ये ३६ वटा सवारीसाधन प्रयोगविहिन भएको राष्ट्र बैंकको तथ्याङ्कमा देखिन्छ ।

नेपाल राष्ट्र बैंकले उक्त गाडिहरु विश्व बैंक, आईएमएफ र विश्व बैंककै आईएफसी जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुका प्रतिनिधि नेपाल आउँदा विमानस्थलबाट ल्याउन÷लैजान लगायतका काममा प्रयोग भइरहेको जनाएको छ । ‘विश्व बैंक, आईएमएफ, आईएफसी लगायतका अन्तर्राष्ट्रिय निकायबाट नेपाल भ्रमणमा आउने विशिष्ट पाहुनाहरुलाई ल्याउन/लैजान, अर्थ मन्त्रालय तथा अन्य निकाय र अदालतमा सम्पादन गरिने कार्यमा सहजीकरण गर्न, मुद्रा जलान गर्ने कार्य, विदेशी मुद्रा विदेशमा पठाउनको लागि गरिने कार्गो सेवालगायत यस बैंकमा रहेको आईएमएफका प्रतिनिधिको कार्यालय, विभिन्न विभाग, कार्यालय तथा महाशाखा, एकल विन्दु सेवा केन्द्रलगायतको विभिन्न विभाग/कार्यालयको दैनिक कार्य सञ्चालमा प्रयोग हुँदै आएको ब्यहोरा अनुरोध छ ।’, बैंकका सूचना अधिकारी नारायण प्रसाद पोखरेलले भनेका छन् ।

तर विश्व बैंक र आईएफसीले आफूहरुले नेपाल सरकार, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंकको सवारीसाधन प्रयोग नगरेको जनाएका छन् । नेपाल राष्ट्र बैंकले विश्व बैंक र आईएमएफको नाम लिएपछि हामीले उनीहरुसँग बुझ्दा आफ्नै सवारी साधन प्रयोग गरेको जवाफ आयो । ‘ईमेल र प्रश्नका लागि धन्यवाद् । यस ईमेलसँगै हामी यहाँलाइ जानकारी गराउन चाहन्छौं कि विश्व बैंकका पाहुनाहरूलाई एयरपोर्टबाट ल्याउने र लैजाने तथा विश्व बैंकले गर्ने सम्पूर्ण कार्यहरूमा आवश्यक पर्ने सवारी साधनको व्यवस्था विश्व बैंक आफैले गर्दछ । साथै विश्व बैंकले गर्ने कुनै पनि कार्यमा नेपाल राष्ट्र बैंक वा अर्थ मन्त्रालयको सवारी साधन प्रयोग नगरिने पनि स्पष्ट पार्न चाहन्छौं ।’, इमेल माफर्त सोधिएको प्रश्नमा विश्व बैंकले भनेको छ ।

त्यति ठूलो संख्याका सवारी साधन के मा प्रयोग हुन्छन् त ? हामीले यसको जवाफ एक जना पूर्वगभर्नरसँग मागेका थियौँ । ‘नेपाल राष्ट्र बैंकमा जति बेथिति अनेन्त्र कतै छैन । गभर्नरले गल्र्ड फ्रेण्डका लागि गाडीको व्यवस्था गरिदिएका हुन्छन् । कर्मचारी युनियनका पदाधिकारीहरुले त्यही नेपाल राष्ट्र बैंककै गाडी प्रयोग गरिरहेका छन् ।’, नाम उल्लेख नगर्ने सर्तमा पूर्वगभर्नरले भने, ‘पूर्वगभर्नर, पूर्वअर्थमन्त्री युवराज खतिवडाले दुई वटा गाडी लिएका छन् । पूर्वकार्यकारीहरुले एक÷एक वटा गाडी लिएका छन् । अनुसन्धानलाई गहिरो बनाउनुहोस्, डेन्जर कुरा पत्ता लगाउनुहुनेछ ।’

सेवा निवृत्त हुनभन्दा एक/दुई महिना पूर्व महङ्गो सवारी खरिद गर्ने गरिएको उनको भनाई थियो । ‘मेरो पालामा त गभर्नर र डेपुटी गभर्नरले मात्र सेवा निवृत्त भएपछि गाडी सुविधा लिने व्यवस्था थियो । तर आजभोली फस्र्ट क्लास अफिसरले पनि गाडी सुविधा लिने गरेको बुझेको छु । उहाँहरु सेवा निवृत्त हुँदा सवारी मूल्यको २५ प्रतिशत रकम तिरेर घर लैजाने व्यवस्था गरेको सुन्दैछु ।’, उनले भने, ‘केही नेता र नेताका श्रीमतीका लागि पनि राष्ट्र बैंकको गाडीहरु प्रयोग भइरहेका छन् । नेपाल राष्ट्र बैंककै कर्मचारीहरुसँग बुझ्नुभयो भने सबै कुराको जानकारी पाउन सक्नुहुन्छ ।’

नेपाल राष्ट्र बैंकका सवारी साधन रातो नम्बर प्लेटमा खरिद गरिएकाले दुरुपयोग भएको कर्मचारी युनियनका नेताहरुको भनाई छ । ‘सुरक्षाको कारण देखाउँदै निजी नम्बर प्लेटमा गाडी खरिद गरिएकाले अत्याधीक दूरुपयोग भएको छ । अरु आर्थिक पत्रकारहरुले त नेपाल राष्ट्र बैंकका विषयमा नराम्रो कुरा केही पनि लेख्दैनन् । तपाईँहरुले लेखेको देख्छु । राम्रो गरिरहनु भएको छ । गभर्नर सापले नै ६ वटा जति गाडी प्रयोग गर्नुभएको छ ।’, नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारी युनियनका नेताले भने, ‘गभर्नर सापले चाहेको नेता, कर्मचारी वा उहाँले चाहेको जुनियर कर्मचारीले यहाँको गाडी प्रयोग गरेका हुन्छन । ३६ वटा गाडी कार्यालय प्रयोजनका लागि प्रयोग भएको मैले चाँही देखेको छैन ।’

एक बर्षको अबधिमा नेपाल राष्ट्र बैंकले १४ वटा गाडी खरिद गरेको पछिल्लो तथ्यङ्कमा उल्लेख छ । २२ वटा गाडी प्रयोग विहिन हुँदा हुँदै राष्ट्र बैंकले पछिल्लो १ बर्षमा ५५ लाखदेखि २ करोड ७८ लाखसम्मका सवारीहरु खरिद गरेको छ । सेवा निवृत्त हुँदै गरेका कर्मचारीलाई पोस्न उक्त गाडीहरु खरिद गरिएको श्रोतको दावि छ । भन्सार शुल्क, राजश्व र अन्य कर तिर्न नपर्ने भएकाले राष्ट्र बैंकले खरिद गरेका गाडीहरु सस्तोमा आउँदा धेरैको आँखा राष्ट्र बैंकको गाडीमा पर्ने गरेको छ । गाडी कम्पनी, सेवानिवृत्त कर्मचारीसँगको मिलेमत्तोमा अनावश्यक सवारी खरिद गर्ने गरिएको तथ्यले देखाएको छ ।