सचिवालय बैठकमा ओलीको ब्रिफिङः राष्ट्रपतिमा माओवादीले धोका दिन सक्छ

शुक्रबार, २७ माघ २०७९

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति चुनावमा माओवादी केन्द्रले धोका दिन सक्ने ब्रिफिङ गरेका छन्।

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा ओलीले माओवादीले एमालेले उठाएको उम्मेदवारलाई असहयोग गर्ने परिस्थिति निर्माण हुँदै गएकाले राष्ट्रपति चुनावमा माओवादी केन्द्रले धोका दिन सक्ने ब्रिफिङ गरेका हुन्।

माओवादी केन्द्रले औपचारिक बैठकबाटै राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक रहेको निर्णय गरेपछि ओलीले आफ्नो पार्टीको बैठकमा राष्ट्रपति चुनावमा आफ्नो अनुकुल हुन नसक्ने जानकारी गराएको एक पदाधिकारीले जानकारी दिए।

ओलीको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘माओवादीले सहमतिविपरीतका कुरा गर्दै गइरहेको छ। राष्ट्रपति हामीले पाउने सहमति भएको हो। तर उसले धोका दिन सक्ने अवस्था बन्दै गएको छ।’

पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा समर्थन गर्दा राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भएको बताइएको थियो।

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेको अवस्थामा राज्यका महत्वपूर्ण सबै पदमा ओली अनुकूलका व्यक्ति नियुक्त गर्दा संविधानमाथि नै खतरा आइपर्नसक्ने विश्लेषण माओवादीभित्र छ।

सचिवालय बैठकमा ओलीको ब्रिफिङपछि एमालेले गठबन्धन चुनौतीपूर्ण अवस्थामा रहेको निष्कर्ष निकालेको थियो। उपमहासचिव प्रदीप ज्ञवालीले बैठकबारे जानकारी दिँदै गठबन्धन चुनौतीपूर्ण अवस्थामा रहे पनि एमाले जोगाएर अघि बढ्ने पक्षमा रहेको उल्लेख गरे।

उनले भने, ‘चुनौतीहरु छन्। तैपनि हामीले गठबन्धनलाई टिकाएर लैजानुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ।’ उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिने सहमित उल्लंघन भएको बताउँदै सरकार गठन भएको बेला भएका सहमतिलाई पालना गर्नुपर्ने समेत जिकिरे गरे।