सम्पर्क साधारण शाखाको कारवाहीमा पर्यो ग्लुमोहर एजुकेशन कन्सल्टेन्सी
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी निकट समाजवादी गणतान्त्रीक सम्पर्क मन्च (सम्पर्क साधारण शाखा)ले मजदुरलाई दुःख दिने शैक्षिक कन्सल्टेन्सीलाई कारवाही गरेको छ । सम्पर्क साधारण शाखा अन्तरगतको न्याय विभागले काठमाडौँ नयाँ बानेश्वरमा रहेको ग्लुमोहर एजुकेशन कन्सल्टेन्सीलाई कारवाही गरेको हो ।
कन्सल्टेन्सीले कार्यालयको सेटअप गर्दा सम्झौता अनुसार गर्न पर्ने भुत्तानी नगरेको भन्दै विभागमा उजुरी परेको थियो । ५ बर्ष अघि गरेको कामको पैसा नदिएको र दिलाइदिन माग गर्दै परमेश्वर जोशीले विभागमा उजुरी गरेका थिए । उनको उजुरीका आधारमा कन्सल्टेन्सीमा पुगेको सम्पर्क मन्चको टोलीले कन्सल्टेन्सीका संचालकलाई नभेटेपछि आक्रोशित भएको थियो ।
लामो समयदेखि पीडित मजदुरलाई भेट्न नमानेकी कम्पनीकी संचालक नितु ठाकुर आफ्नो कार्यालयमा समेत आउन मानिनन् । उनी आफ्नै कार्यालयमा आउन नमाने पछि मन्चको टोलीले कार्यालयका सम्पूर्ण समाना उठाएर लिने तयारी गर्यो ।
आइतबार सम्बन्धीत व्यक्तिसँग भेटघाट गर्ने बताएकी उनी आक्रोशित भिडको धम्कीपछि मध्येबानेश्वर स्थित काठमाडौं महानगरपालिका वडा नम्बर १० को कार्यालयमा भेट्ने अडान लिइन् । मंचले कर्मचारीलाई कार्यालयमै थुनेर ताला लगाएपछि दुई पक्षबीच छलफलका लागि वातावरण बनेको थियो ।
छलफलपश्चात ठाकुर १ लाख ४५ हजार नगद र १ लाख रुपैयाँको चेक दिन तयार भएकी थिन् ।
५ बर्षसम्म भोली/भोली भन्दै कुराएर मजदुरलाई दुःख दिने ठाकुरलाई मन्चले एक घण्टामा सम्पूर्ण रकम फिर्ता गरिदिएपछि जोशीले नेपाल कम्युनिस्ट पार्टीलाई धन्यवाद दिएका छन् ।