प्रहरीले भन्यो, ‘सांसद भण्डारीको घरमा ग्यास विस्फोट भएको होइन’
काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको घरमा सिलिण्डर विस्फोट नभएको पाइएको छ । ग्यास लिक भएको समयमा बत्ती जलाउँदा आगालागी तर ग्यास विस्फोट नभएको प्रहरीले जनाएको छ ।
ग्यास लिक भएको र त्यहिबेला बिजुलीको स्वीच अन गर्दा आमा–छोरा आगलागीमा परेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । ग्याँसको गन्ध आएपछि आमा हरिकलाले सांसद भण्डारीलाई त्यसबारे जानकारी गराइन् । त्यसपछि भण्डारीले भान्सा कोठामा गएर बिजुलीको स्वीच अन गरेका थिए । स्वीच अन गर्दा ‘स्पार्क’ भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले बताए ।
भुईँ तलामा किचन छुट्टै थियो । आमा छोरा फरक कोठामा बस्थे । स्वीच अन गरेपछि आगलागी र कोठामा धुवाँ भरियो । प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन आएपछि सिआरभी भ्यानले उनीहरूलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगेको थियो ।
आगलागीमा ग्यास विस्फोट नभएको एसपी रिजालले बताए । रिजालले भने– ‘सिलिन्डर पड्केको छैन ।’ उपचारमा संलग्न चिकित्सकहरूका अनुसार सांसद भण्डारीको शरीरको बाहिरी भाग ३० प्रतिशत र भित्री भागमा १५ प्रतिशत जलेको छ । हरिकलाको बाहिरी भागमा ७० प्रतिशत जलेको थियो ।
भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ भने उनलाई थप उपचारका लागि भारत लगिएको छ ।