२० सेकेण्डका लागि खर्चिएका ३० वर्ष

शुक्रबार, १२ फाल्गुन २०७९

काठमाडौँ – स्पेनमा जन्मेका पाब्लो पिकासो चर्चित चित्रकार थिए । उनका चित्र संसारभर करोडौँ डलरमा बिक्थे । दुनियाँभर लाखौँ मानिस उनका चित्रका ठूला प्रशंसक थिए । एकपटक कामविशेषले पिकासो कतै गइरहेका थिए । रातमा उनी कुनै एउटा होटेलमा रोकिए । त्यहाँका मानिस उनलाई चिन्दैनथे । तर, त्यही होटेलमा बसेकी एक महिलाले भने उनलाई चिनिन् ।

उनलाई देख्नासाथ उनी पिकासोनजिक गइन् र भनिन्– ‘सर, म तपाईं र तपाईंका चित्रकी ठूलो प्रशंसक हुँ । तपाईंसित भेट्न पाउँदा आफ्नो जीवन सफल भएको ठानेकी छु । कृपया हजुर मलाई एउटा कुनै चित्र बनाइदिनुस् न  !’

पिकासोले महिलाको अनुरोध सुनेपछि भने– ‘अहिले नै त मेरा साथमा चित्र बनाउने कुनै पनि साधन छैन । पछि कुनै दिन म तपाईंका लागि अवश्यै चित्र बनाउनेछु । तर, महिलाले जिद्दी गरिन्– फेरि अर्कोपटक तपाईंसित मेरो भेटघाट भएन भने मैले कहाँबाट चित्र पाउनु ? त्यसैले, जस्तो भए पनि अहिल्यै बनाइदिनुस् न ।’

पिकासोले आफ्नो खल्तीबाट एउटा कागजको टुक्रा निकाले र होटेलकी रिसेप्सनिस्टसित एउटा कलम मागेर २० सेकेन्डभन्दा पनि कम समयमा केही कोरेर दिँदै भने– ल लिनुहोस्, यो मिलियन डलरको चित्र  ! चित्र पाएपछि ती महिला पिकासोलाई धन्यवाद दिएर त्यहाँबाट गइन् । उनी मनमनै सोच्दै थिइन्– ‘पिकासोले हतारमा जे पायो त्यही बनाइदिएर मलाई उल्लू बनाए । तैपनि, एकपटक बजारमा गएर यसको मूल्य बुझ्नुपर्‍यो ।’

ती महिला बजार पुगिन् र चित्रहरू बेच्ने पसलमा गएर त्यस चित्रको मूल्य सोधिन् । साँच्चै पसलेले त्यस चित्रका लागि मिलियन डलर दिन सक्ने बताए । चित्रको मूल्य थाहा पाएपछि ती महिला आश्चर्यमा परिन् । भोलिपल्ट ती महिला पुनः पिकासो भएको स्थानमा पुगिन् र भनिन्– सर, तपाईंले २० सेकेन्डभन्दा पनि कम समयमा मिलियन डलरको चित्र बनाइदिनुभयो । तपाईं साँच्चै महान् चित्रकार हुनुहुन्छ । मलाई पनि चित्र बनाउन सिकाइदिनुहोस् न !

महिलाको अनुरोध सुनेपछि हाँस्दै पिकासोले भने– हे देवी, मैले जुन २० सेकन्डमा चित्र बनाएँ, त्यसलाई सिक्न मलाई ३० वर्ष लाग्यो । तिमी पनि ३० वर्ष देऊ, पक्कै सिक्न सक्नेछौ । पिकासोको जवाफ सुनेर ती महिला निरुत्तर भइन् ।