सन्दीपलाई विदेश गएर खेल्न सर्वोच्चले अनुमति दिएन

शुक्रबार, १२ फाल्गुन २०७९

काठमाडौँ – सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश गएर खेल्न पाउने अनुमति दिन अस्वीकार गरेको छ ।

धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा दायर गरेको मुद्दामा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछानेविरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतमा नै विचाराधीन रहेकोले अनुमति दिन अस्विकार गरेको हो ।

लामिछाने विरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकोले दुवै मुद्दालाई लगाउमा राखेर सुनुवाइका लागि आइतबार संयुक्त इजलासमा पेसी तोक्न आदेश दिएको छ ।

उच्च अदालतको आदेश उपर यस अदालतको संयुक्त इजलासमा सुनुवाइ प्रक्रिया विचाराधीन रहेको अवस्थामा सो प्रतिवेदन उपरको सुनुवाइ कार्य बाँकी राखेर अहिले प्रतिवादी सन्दीप लामिछानेको निवेदन माग अनुसार यस एकल इजलासबाट कुनै आदेश जारी गर्नु मनासिब नदेखिएको आदेशमा उल्लेख छ । एउटै मुद्दामा वादी प्रतिवादी दुवै पक्षको निवेदन पर्न आएको अवस्था हुँदा दुवै निवेदन उपर एकैसाथ सुनुवाइ हुनु आवश्यक देखिएको खतिवडाको आदेशमा भनिएको छ ।

गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपसँग २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा गर्ने आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म विदेश जान रोक लगाउने सहितका सर्तहरू राखेर धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यस लगत्तै पुस २९ गते २० लाख रुपैयाँ धरौटी राखेर लामिछाने रिहा भएका थिए ।

आजको सुनुवाइमा सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ताद्वय मुरारी प्रसाद सापकोटा र सरोजकृष्ण घिमिरेले बहस गरेका थिए ।