राष्ट्रपतिमा स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्ति चाहिन्छः डा. राउत
काठमाडौं— जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राष्ट्रपति चयनको क्रममा आफूहरुले स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्ति खोजेको बताएका छन् । सोही बमोजिमको पात्रको रुपमा रामचन्द्र पौडेललाई आफूहरूले समर्थन गरेको राउतले बताए ।
राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिन नहुने पक्षमा जनमत पार्टी रहेकाले पनि पौडेललाई समर्थन गरेको उनको भनाइ थियो ।
मंगलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । राष्ट्रपति र सभामुख एउटै दलको भएमा निरंकुशता जन्मिनसक्ने उनको तर्क छ । यस क्रममा आगामी राष्ट्रपतिले संसदबाट पारित भएका विधेयकहरुलाई उदारतापूर्वक प्रमाणिकरण गर्नुपर्ने पनि उनले बताए ।
यसैबीच आफूहरू सरकारबाट नबाहिरिने उनले बताएका छन् । अध्यक्ष राउतले अन्य पार्टीहरु आफ्नो माग पूरा नभएकाले बाहिरिएको भन्दै जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको बताए ।
माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकाले सरकार बदलिएको भन्न नमिल्ने पनि उनको भनाइ थियो । सरकारमा सामेल भएका दलहरु फेरिने भए पनि सरकार नफेरिने भन्दै जनमत पार्टी सरकारमा यथावत रहेको उनले बताए ।