प्रदेश १ नामकरणको प्रस्ताव संशोधनका लागि समय तोकियो, आजै घोषणा हुने

बुधबार, १७ फाल्गुन २०७९

काठमाडौँ – प्रदेश १ संसदका सभामुख बाबुराम गौतमले प्रदेश सभामा दर्ता भएको ‘कोशी’ नाममा संशोधन गर्न चाहने सांसदका लागि दुई घण्टाको समय दिंदै स्थगित गरेका छन्।

एमालेले प्रस्ताव गरेको कोशी प्रस्तावबारे सांसदहरूले बोल्ने क्रम सकिएपछि सभामुखले कोशी’ नाममा संशोधन गर्न चानानेहरुका लागि दुई घण्टाको समय दिंदै प्रदेशसभा स्थगन गरेका हुन्।

यो दुई घण्टामा संशोधन गर्न चाहने सांसदले संशोधन दर्ता गर्न सक्नेछन्। प्रक्रिया पूरा भएपछि आजै नाम घोषणा गर्ने तयारी छ।

यसअघि प्रदेश सभा सचिवालयमा प्रदेशको नाम कोशी राख्नुपर्ने र लिम्बुवान किरात सगरमाथा राख्नुपर्ने प्रस्ताव दर्ता भएका थिए।

ती दुई प्रस्तावमध्ये एमालेले दर्ता गरेको प्रस्तावमाथि छलफल भएको थियो।

दर्ता भएका दुई प्रस्तावमध्ये सभामुख बाबुराम गौतमले छलफल गर्ने कि नगर्ने भनेर ध्वनि मतका आधारमा निर्णय गरेका थिए।

सुरूमा कोशी प्रस्तावलाई छलफलका लागि अघि बढाउन सभामुखले ध्वनि मतका आधारमा निर्णय गरेका थिए।

उक्त प्रस्ताव छलफलका लागि स्वीकृत भएपछि नेकपा ९एकीकृत समाजवादी० ले राखेको प्रस्ताव अस्वीकृत भएको थियो।

कोशीको पक्षमा एमालेसहित नेपाली कांग्रेस र माओवादी केन्द्र पनि उभिएका छन्। यसअघि कांग्रेस सांसद भूमिप्रसाद राजवंशी एमालेको प्रस्तावमा समर्थक बनेका थिए। पछि उनले आफ्नो समर्थन फिर्ता लिएका थिए।

कांग्रेस सांसदहरू भने कोशी प्रस्तावको पक्षमा देखिएका छन्।

कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले पनि कोशी प्रस्तावको पक्षमा बोलेका छन्।

माओवादी केन्द्रका ईन्द्र आङ्बोले पनि घुमाउरो तरिकाले कोशी प्रदेशकै पक्षमा बोलेका छन्। यसअघि माओवादी केन्द्रले कोशीका पक्षमा मत हाल्ने निर्णय गरिसकेको छ।

एकीकृत समाजवादी र जसपाका सांसदहरू भने कोशी प्रस्तावको विपक्षमा उभिएका छन्। एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले सबै दलहरूले चुनावका बेला पहिचानको आधारमा प्रदेशको नाम राख्ने बाचा गरेको उल्लेख गरे। उनले सबै पार्टीका घोषणा पत्रमा कुन बुँदामा यो कुरा लेखिएको छ भनेर पनि छलफलमा पढेर सुनाएका थिए।