मालिक खुसी पार्न जनतालाई विष खुवाउन खोजेको प्रचण्डलाई ओलीको आरोप

शनिबार, २० फाल्गुन २०७९

काठमाडौं – पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिलाई रिझाउन प्रधानमन्त्री प्रचण्डले जनतालाई विष खुवाउन खोजेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीलेअपर मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्ने दिने र भारतीय तरकारीको विषादी परीक्षण रोक्न प्रधानमन्त्री आफैं अग्रसर हुनु त्यसको स्पष्ट संकेत भएको भन्दै यस्तो आरोप लगाएका हुन् ।

ओलीले मुस्ताङमा ३१ सालमा भन्दा ठूलो स्केलमा विदेशी हस्तक्षेप बढाउन खोजिएको आरोप लगाए । उनले मालिक खुसी बनाउन आफ्ना जनतालाई विषादी खुवाउन प्रधानमन्त्री तयार रहेको भन्दै प्रधानमन्त्रीकै आदेशमो विषादी परीक्षण नगर्न भनिएको आरोप समेत लगाएका छन् ।

ओलीले भने– माथिल्लो मुस्ताङ जहाँ मान्छे नै बस्दैनन् त्यहाँ किन विश्वविद्यालय खोल्न खोजियो ? यो चीनविरुद्धको गद्दारीमात्र होइन हाम्रो सार्वभौमसत्ता र स्वाधीनतालाई अश्वीकार गरेको हो । प्रधानमन्त्री यो देशलाई विदेशीहरुको खेल मैदान बनाउँन खोज्दैछन्, त्यहाँको युरेनियममा ध्यान दिइएको हो ।

ओलीले एकजना हिरोइनको उपस्थितिमा आठ दलको बैठक बसेको भन्दै मुलुकमा अब यस्तै तमासाहरु देखिने बताए । केही दिनअघि एलिजा गौतमको उपस्थितिमा आठ दल बैठक बसेको तर्फ ओलीले संकेत थियो ।