दुर्गा प्रसाईंमाथि गृहको निगरानी
काठमाडौँ – गृह मन्त्रालयले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि गृहले निगरानी बढाएको छ।
पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान सुरू गरेका प्रसाईंले बैंक तथा वित्तिय संस्थाले ज्यादती गरेको भन्दै त्यसविरूद्ध पनि विभिन्न कार्यक्रम गर्दै आएका व्यवसायी प्रसाईंमाथि गृहले निगरानी बढाएको हो ।
काठमाडौं उपत्यकाभित्र र बाहिरका विभिन्न जिल्लामा भैरहेका उनका गतिविधिमाथि सुक्ष्म निगरानी भइरहेको गृह मन्त्रालयका सूचना अधिकारी उपसचिव दिलकुमार तामाङले बताएका हुन् ।
‘दुर्गा प्रसाईंका गतिविधिमाथि निगरानी गरिरहेका छौं। सबै संयन्त्रले उहाँ मात्रै होइन, अहिलेको राजनीतिक, आर्थिक, विश्लेषण गरिरहेकै हुन्छ। सार्वजनिक सेवामा अवरोध, अप्ठेरो सिर्जना गर्ने, नागरिकलाई दुख दिने जस्ता काम भए कानुनी दायरामा ल्याउँछौं,’ तामाङले भने।
प्रसाईंकै नेतृत्वमा कालोमोसो अभियान पनि चलाइएको छ। ‘ज्यादती गर्ने’ बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूमाथि कालोमोसो दल्ने भन्दै चितवनबाट यो अभियान सुरू गरिएको थियो।
यसका संयोजक शम्भु थापा छन्। थापालाई जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार बिहान भरतपुरबाट सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
चितवन प्रहरीका अनुसार सार्वजनिक रूपमा अमर्यादित र अस्वभाविक अभिव्यक्ति दिई समाजमा अफवाह फैलाई सार्वजनिक शान्ति भंग गरेको कसुरमा थापालाई पक्राउ गरिएको हो। उनीमाथि अनुसन्धान भइरहेको छ। अनुसन्धान सकिएपछि उनीविरूद्ध कुन मुद्दा चलाउने भन्ने टुंगो लाग्नेछ।
पक्राउ परेका थापा यसअघि नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन वाइसिएलमा आवद्ध थिए। वाइसिएल चितवनको पदाधिकारी बनेका थापा पछिल्लो समय भने निष्क्रिय थिए। प्रसाईंले कालोमोसो अभियान सुरू गरेपछि उनी त्यसमा लागेका हुन्।
प्रसाईंले कालोमोसो अभियान सुरू गरेपछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले सुरक्षा प्रत्याभूति गराउन भन्दै मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए।
फागुन १९ गते गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बैंक तथा वित्त संस्थाका कर्मचारीमाथि दुर्व्यवहारका घटना भएको भन्दै सुरक्षा दिन र अवाञ्छित क्रियाकलाप रोक्न निर्देशन दिएको थियो।
गृहका सूचना अधिकारी तामाङले अभियान मात्रै चलाए पक्राउ नगरिने तर कानुन उल्लंघन गरेको पाइएमा भने पक्राउ गरिने बताए।
‘अभियानको नाममा कानुनको उल्लंघन गर्ने, कानुन हातमा लिएर, कानुनले वर्जित गरेका कृयाकलाप गर्नेलाई समातिन्छ। अभियानमा संलग्न हुँदैमा समात्ने भन्ने होइन। तर अभियानको नाममा बैंकका कर्मचारीहरूलाई कालोमोसो दल्ने भन्ने कानुनले निषेध गरेको काम भयो,’ उनले भने, ‘यस्ता गतिविधिमा संलग्नलाई कानुनको दायरामा ल्याउनू भनेर मातहतको सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिएको छ। त्यहीअन्तर्गत शम्भु थापा समातिएका होलान्।’
थापाविरूद्ध के(कस्तो मुद्दा चलाउने भन्ने विषय पनि स्थानीय प्रशासनकै हातमा रहेको र सरकारी वकिल कार्यालयसँग समन्वय गरी निर्णय गर्न सक्ने उनले बताए ।