८२ जना डीएसपीको सरुवा, काजसरुवा मिलाएको ठाउँबाट २१ दिनमै पनि सरुवा भए
फागुन २१ काठमाडौं- प्रहरी प्रधान कार्यालयले ८२ जना प्रहरी नायब उपरीक्षक-डीएसपीको सरुवा गरेको छ। डीएसपी र प्रहरी निरीक्षक-इन्स्पेक्टरको बढुवापछि प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा डीएसपीको सरुवा गरेको हो।
डीएसपीको बढुवापछि काज मिलाएर दार्चुलाको प्रमुख भएका डीएसपी भेषराज रिजाल त्यहाँ पुगेको २१ दिनमै सरुवा भएका छन्। त्यस जिल्लामा दिपेन्द्र शाहीलाई पठाइएको छ। काज सरुवापछि सरुवा निकाल्दा दरबन्दी त्यहीँ पार्ने प्रचलनलाई वेवास्ता गर्दै ती डीएसपी सरुवा भएका हुन्। महानगरीय प्रहरी पहरा गण, सामाखुसीमा बाट दार्चुला पठाइएका रिजाललाई पुन पुरानै ठाउँमा ल्याइएको छ।
बाजुरामा उद्धवसिंह भाट, अछाममा जनकबहादुर शाही, मुस्ताङमा तुलबहादुर कार्की, स्याङ्जामा नविनकृष्ण भन्डारी, ओखलढुंगामा पुष्पराज मल्ल, पुर्वी रुकुममा योगेन्द्र खड्का, हुम्लामा रामप्रसाद घर्तीमगर, जाजरकोटमा श्यामबहादुर खत्री र रामेछापमा सन्तोषकुमार भट्टराई सरुवा भएका छन्। यी सबै जिल्ला डीएसपी इन्चार्ज हुने जिल्ला हुन्।
यसैगरि करिब एक दर्जन इलाका प्रहरी कार्यालयका इन्चार्ज पनि परिवर्तन भएका छन्। डीएसपीमा बढुवा भएका ६४ जनाको पनि पदस्थापन भएको हो।