दुर्गा प्रसाईंको अभियानलाई ओलीले दिए देशद्रोही अभियानको संज्ञा
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले चलाइरहेको अभियानलाई देशद्रोही अभियानको संज्ञा दिएका छन्।
शुक्रबार काठमाडौँमा एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रसाईंको अभियानलाई देशद्रोही अभियानको संज्ञा दिएका हुन्। ओलीले मुलुकमा देशद्रोही अभियान चलाइरहँदा पनि सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन्।
व्यवसायी दुर्गा प्रसाईका देशद्रोही गतिविधिलाई सरकारले तत्काल नियन्त्रणमा नलिए जनताले त्यसको प्रतिकार गर्ने चेतावनी समेत दिए।
उनले भने, ‘सरकारको नोटिसमा छ कि छैन, सरकारले गराएको हो कि होइनरु एउटा मान्छे कुद्छ, दुईटा मान्छे कुद्छ, एक हुल मान्छे कुद्छ। केही पेड मान्छेहरु थपडी बजाउन त्यहाँ पठाइन्छ। यो देश सार्वभौमसत्ता सम्पन्न राष्ट्र राख्नभन्दा विदेशीलाई बुझाइदियो भने, सुम्पिदियो भने साग सस्तो पाइन्छ, साइकल सस्तो पाइन्छ, किन यो देश राख्ने भन्छरु सरकार सुन्छ कि सुन्दैन र?
यो देशको सन्तान भन्न पनि नसुहाउँने, देशद्रोही कुरा गरेर मान्छे हिँडी राख्या छ। सरकारले लगाएको हो कि नलगाएको होर ? के यही प्रचार, यही अभियान जनताले प्रतिवाद गर्न नपरोस्। शान्ति, सुव्यवस्था कायम राख्न सरकारले ध्यान देओस् होइन भने जनताले प्रतिवाद गर्छ।’
राष्ट्रको सार्वभौमसत्ताविरुद्ध कोही चम्किँदै हिँड्छ भने जनता सहेर नबस्ने उनले चेतावनी दिए। उनले भने, ‘राष्ट्रियताको विरुद्ध, राष्ट्रिय अस्तित्वको विरुद्ध, राष्ट्रको सार्वभौमसत्ताको विरुद्ध कोही चम्किदै हिँडछ भने कुनै ब्यांकका डिफल्टर हुन् वा जोसुकै होउन्, कसैलाई पनि जनताले सहन सक्दैन।’