प्रचण्ड नेतृत्वको सरकारमा जाने निर्णय लिन कांग्रेस संसदीय दलको बैठक बस्ने
काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बैठक बस्ने भएको छ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संसदीय दलको बैठकअघि अनजै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्दै छ ।सङ्घीय संसद् भवनको शङ्कर हलमा बिहान १०ः३० बजे बैठक बस्ने छ ।
कांग्रेस कार्यसम्पादन र संसदीय दलको बैठकबाट सरकारमा जाने निर्णय गर्ने कांग्रेस महामन्त्री गगन थापाले बताए । यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक प्रभावित भएको थियो । कांग्रेसले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गर्ने महामन्त्री थापाको भनाइ छ ।
गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बसेको थियो। राष्ट्रपति निर्वाचनमा पुस १० को सत्ता समीकरणमा फेरबदल आएर एमाले प्रतिपक्षी कित्तामा पुगेको छ । प्रचण्ड नेतृत्वको सरकारबाट मन्त्री फिताए बोलाएर एमालेले समर्थन पनि फिर्ता लिसकेको छ । आजको संसद बैठकमा कांंग्रेस सत्ता पक्षको बेन्चमा बस्दा एमाले विपक्षी बेन्चमा बस्नेछ ।