पोखराका कुनै पनि विद्यालयमा हुन सकेन स्ववियु निर्वाचन

आइतबार, ५ चैत्र २०७९

काठमाडौं— त्रिभुवन विश्वविद्यालयअन्तर्गतका देशैभरका अधिकांश विद्यालयमा जारी स्ववियु निर्वाचन पोखरामा भने कुनै पनि विद्यालयमा हुन सकेको छैन ।

देशकै सबैभन्दा बढी विद्यार्थी भएको पीएन क्याम्पससहित स्ववियु निर्वाचन हुने भनिएका ६ वटा क्याम्पसमा निर्वाचन स्थगित भएको हो । ६ क्याम्पसम्मध्ये पोखरा नर्सिङ र पश्चिमाञ्चलन इन्जिनियरिङमा मात्रै फागुन २७ गते मनोनयन दर्ता भएको थियो । तर, उम्मेदवारी दर्तापछि पनि विद्यार्थी संगठनबीच आन्तरिक विवाद बढ्दा अन्य प्रक्रिया अघि बढ्नै सकेन ।

१० हजारभन्दा बढी मतदाता भएको पृथ्वीनारायण क्याम्पसमा निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी हुँदा एकातिर मनोनयन दर्ता नै हुन सकेन भने उच्च अदालतले पनि निर्वाचनको गतिविधि सञ्चालन नगर्न अल्पकालीन आदेश दिएको छ । क्याम्पसको विवाद अदालतसम्म पुग्दा निर्वाचन समितिले नै राजीनामा दिइसकेका छन् ।

फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची रहे पनि पोखराको पृथ्वीनारायण क्याम्पसमा उम्मेदवारी दर्ता हुन सकेन । उम्मेदवारी दर्ता अगावै निर्वाचन समितिबाटै विद्यार्थीको व्यक्तिगत विवरण बाहिर ल्याएको भन्दै केही विद्यार्थी संगठनले तालाबन्दी गरेपछि उम्मेदवारी दर्ता हुन नसकेको हो ।

त्यसअघि विद्यार्थीले आफूहरुले नाम दर्ता गर्दा एउटा समूहबाट गरेको र समितिले अर्को नाम राखेर दर्ता गरिदिएको भन्दै उच्च अदालतमा रिट दर्ता भएको थियो । सोही रिटमाथि न्यायाधीश ऋषि राजभण्डारीको एकल इजालसले अन्तरिम आदेश नआउँदासम्म क्याम्पसमा स्ववियू निर्वाचनका कुनै पनि गतिविधि नगर्न अल्पकालीन आदेश दिएको छ ।

दीप्सन गुरुङ, विप्लवी न्यौपानेलगायत विद्यार्थीले ‘स्वतन्त्र विद्यार्थी समूह’ बनाएर संगठन दर्ता गराएका थिए । निर्वाचन अधिकृतको कार्यालयले त्यस्ता सबै नाम परिवर्तन गर्दा गुरुङ, न्यौपानेको संगठनको नाम पृथ्वी विद्यार्थी मञ्च राखिदिएको थियो । त्यसपछि पुरानै नाम कायम गरिदिन माग गर्दै विप्लवी न्यौपानेले क्याम्पसलाई विपक्षी बनाएर उच्च अदालतमा २६ फागुनमा रिट हालेकी थिइन् ।

त्यसबाहेक क्याम्पसमा विद्यार्थीको डाटा बाहिर ल्याएको भन्ने विषयमा पनि लफडा जारी नै छ । स्ववियु निर्वाचनको तयारी चलिरहँदा पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीको व्यक्तिगत कागजात बाहिर ल्याएको भन्दै विवाद सुरु भएर तालाबन्दीसम्म पुगेको थियो ।

विद्यार्थीको व्यक्तिगत डाटा ‘लिक’ भएको विषयमा प्रशासन, विद्यार्थी संगठनबीच एकआपसमा आरोपप्रत्यारोप चलिरहेको छ । विद्यार्थीको व्यक्तिगत विवरण बाहिरिएकोबारे तथ्य खुल्न नसक्दा निर्वाचन समितिको दैलोमा लागेको ताला पनि अझै खुल्न सकेको छैन ।

डाटा ‘लिक’ क्याम्पस प्रशासन र निर्वाचन समितिकै मिलेमतोमा भएको भन्दै अखिल क्रान्तिकारी ९विप्लव०, अखिल ९छैटौं०, अखिल ९क्रान्तिकारी० संयुक्तले तालाबन्दी गरेका हुन् । ‘हामी स्ववियु चुनावकै पक्षमा छौं । तर, विद्यार्थीको डाटा लिक हुनु भनेको गम्भीर विषय हो । यस विषयमा छानविन हुनै पर्छ, हाम्रो माग त्यत्ति हो,’ अखिल क्रान्तिकारी ९विप्लव०का जिल्ला अध्यक्ष सचिन पौडेलले भने ।

त्यस्तै, मनोनयन दर्ता भएर पनि अदालतका कारण पोखरा नर्सिङ क्याम्पसको स्ववियु निर्वाचन रोकिएको छ । सरकारी सेवासुविधा लिइरहेको व्यक्तिले उम्मेदवारी दिएको भन्दै अनुष्ठा चापागाईंले फागुन ३० गने उच्च अदालत पोखरामा रिट दायर गरेकी थिइन् ।

सोही रिटमाथि शुक्रबार न्यायाधीशद्वय उज्जवल शुक्ल र ऋषिराज भण्डारीको संयुक्त इजलाशले तत्कालीन निर्वाचन नगराउन अन्तरिम आदेश जारी गरेको थियो । चापागाईंले अनेरास्ववियुबाट स्ववियु सभापति उम्मेदवार बनेका अञ्जना अधिकारी र कोषाध्यक्ष पदका उम्मेदवार अनेरास्ववियुकै दिपिका धिताल नेपाल सरकारको सेवासुविधा तथा तलब लिँदै आएकाले उम्मेदवारी बदर गर्न रिट दर्ता दिएकी थिइन् ।

त्यस्तै, उम्मेदवारी दर्ता भएर पनि पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा पनि स्ववियु निर्वाचन हुन सकेको छैन ।उम्मेदवार टिकट बाँडफाँडमा मनोमानी भएको भन्दै आन्तरिक विवादका कारण नेपाली कांग्रेस निकट नेविसंघको एक समूह आमरण अनसन बसिरहेको छ । उनीहरुले अनधिकृत व्यक्ति समावेश गरेर मनोमानी भएको आरोप लगाउँदै निर्वाचन अधिकृतको पनि राजीनामा माग गरेका छन् । पोखराकै जनप्रिय माविमा पनि विद्यार्थी संगठनकै विवादका कारण स्ववियु चुनाव हुन सकेन । विन्ध्यवासिनी विद्यापीठ र वनविज्ञान अध्ययन तालाबन्दी नै छ ।